नेपाल चेम्बर र रसियन फेडरेशनको व्यापारिक प्रतिनिधिमण्डल बीच भेटवार्ता |
काठमाडौं । रसियन फेडरेशका व्यापारिक प्रतिनिधिमण्डल र नेपाल चेम्बर अफ कमर्सका अधिकारीबीच भेटवार्ता भएको छ । चेम्बरको कार्यालय जमलमा भएको भेटमा रुसी राजदूत अलेकसेइले व्यापारिक प्रतिनिधिमण्डलको भ्रमण कोभिड पश्चातको पहिलो भ्रमण भएकोले यसको विशेष महत्व रहेको र यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले लाभ लिन सक्ने कुरा व्यक्त गरे ।
व्यापारिक प्रतिनिधिमण्डलका प्रमुख मिट्रभले कोभिड विरुद्धको भ्याक्सिन रुसले परीक्षण गरी विशाल रुपमा प्रयोगमा आइसकेको उल्लेख गर्दै सो भ्याक्सिनको नेपालमा पनि प्रयोग गर्न सरल, सहज र छिटो हुने व्यवस्था हुन यो भ्रमण गरिएको उल्लेख गर्दै नेपाल भ्याक्सिन प्राप्त गर्ने संभाव्य दश मुलुकको सूचीमा रहेको बताउन पाउँदा आफूलाई खुसी लागेको बताए ।
उनले विभिन्न परियोजना खासगरी पूर्वाधार, रेल्वे सेवा, मेट्रो सेवा र अटोमोबाईलमा दुई मुलुकबीच सहयोग र सद्भावको पर्याप्त सम्भावना रहेको बताए ।
सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले धेरै पछि रुसको व्यापारिक प्रतिनिधमण्डललाई चेम्बरमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै कोभिड–१९को भ्याक्सिन रुसले सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना दिँदै ती भ्याक्सिन नेपालमा आयात गरी नेपाली जनतामा वितरण गर्न चेम्बरले सहजकर्ताको भूमिका खेल्न तयार रहेको बताए ।
साथै नेपालको अपार जलसम्पदाको समुचित प्रयोग गर्न जलस्रोतमा रुसी लगानीको साथै ४०० के.भी. ट्रान्समिसन लाईनलगायत अन्य क्षेत्रमा लगानी आउने आशा एवं विश्वास व्यक्त गरे ।
सो अवसरमा चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल, महिला चेम्बरका अध्यक्ष, युथ चेम्बरका अध्यक्ष,पर्यटन समितिका सभापतिलगायतको उपस्थिति रहेको थियो ।


