९ महिनापछि भोलिदेखि चिडियाखाना खुल्दै |
काठमाडौं । गत चैतदेखि बन्द भएको सदर चिडियाखाना भोलि (बिहीबार)देखि खुल्ने भएको छ । तर कोरोना महामारीका कारण पहिले जस्तो चिडियाखानामा खुल्ला तरिकाले घुम्न भने पाइने छैन ।
कोरोना भाइरसको महामारीका कारण बन्द भएको चिडियाखाना ९ महिनापछि खुल्दा बढीमा एकदेखि डेढ घण्टाभित्र चिडियाखानाबाट निस्कनुपर्ने नियम बनाइएको छ । कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि बिहीबारदेखि स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागेको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिए ।
चिडियाखाना प्रवेशमा लाग्ने शुल्कमा कुनै परिवर्तन गरिएको छैन । एकपटकमा ८०० जनालाई मात्रै अवलोकनको लागि भित्र प्रवेश दिइनेछ । भित्र जानेको संख्याजस्तै बाहिर निस्कनेको संख्या पनि गणना गरिनेछ । जतिजना बाहिर निस्कन्छन् सोही बराबरको संख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइनेछ ।
अब चिडियाखानाभित्र जाँदा बाहिरबाट खाना लैजान पाइँदैन । आफूलाई खान र वन्यजन्तुको लागि बाहिरबाट खाना लैजान कडाइ गरिएको चिडियाखाना व्यवस्थापनले जनाएको छ । साथमा प्रवेश गर्नुपूर्व मास्क अनिवार्य र स्यानिटाइजर अनिवार्य गरिएको छ भने तापक्रम नापेर मात्रै भित्र प्रवेश दिइने भएको छ ।
अब चिडियाखाना जाँदा पहिलेजस्तो टिकट काट्नको लागि लाइन बस्नुपर्दैन । पोखरेलका अनुसार चिडियाखाना जानको लागि बुधबारदेखि नै अग्रिम अनलाइन टिकट काट्न सकिने व्यवस्था गरिएको छ । चिडियाखानाको वेवसाइट वा इसेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको पोखरेल बताउँछन् ।


