रुसमा कोरोनाविरुद्धको भ्याक्सिनेशन लगाउन शुरु, पहिलो चरणमा कसलाई प्राथमिकता? |
रुसमा शनिबारदेखि कोरोना विरुद्धको भ्याक्सिनेशन अभियान शुरु भएको छ । रुसको राजधानी मस्कोमा क्लिनिक्सका साथ कोभिड–१९ भ्याक्सिनेशन कार्यक्रम शुरु भएको हो ।
भ्याक्सिनेशन अभियानमा ती मानिसहरुलाई प्राथमिकता दिइनेछ, जसलाई कोरोना भाइरसको संक्रमणको सबैभन्दा अधिक खतरा रहेको छ ।
सुरुमा मस्कोका विद्यालय, स्वास्थ्य क्षेत्र अनि सामाजिक कार्यमा संलग्न मानिसलाई खोप दिइने भएको छ । भ्याक्सिन सुरुवाती चरणमा नै पाउनका लागि रुसमा हजारौँ मानिसहरुले आफ्नो नाम दर्ता गराएका छन् ।
अहिले मस्कोका ७० स्थानमा रहेका क्लिनिकहरूमा निःशुल्क सुविधाका लागि अनलाइन सेवामार्फत नाम दर्ता गर्न पाउने व्यवस्था मिलाइएको छ। तर हालसम्म यो स्पष्ट छैन कि, रुसले उक्त भ्याक्सिनलाई कति मात्रामा बनाउन सक्नेछ ।
यद्यपी यस वर्षको अन्त्यसम्म भ्याक्सिनको २० लाख डोज तयार गरिने अपेक्षा गरिएको छ ।
मस्कोमा मात्रै १ करोड ३० लाख जनसंख्या छ। मस्कोका मेयर सर्गेई सोबेएनिनका अनुसार, उक्त शहरमा सबैभन्दा पहिले ती मानिसहरुले भ्याक्सिन पाउनेछन्, जो सामाजिक कार्य, विद्यालय र स्वास्थ्य सेवामा काम गर्दछन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आगामी ६ साताभित्र सम्पूर्ण नागरिकलाई खोपको पहिलो डोज दिइसकिने दाबी गरेका छन् ।
भ्याक्सिनेशनका लागि रुसले आफ्नो स्पुतनिक ५ भ्याक्सिन प्रयोग गरिरहेको छ, जसलाई यसै वर्षको अगष्टमा दर्ता गराइएको थियो ।
उक्त भ्याक्सिन विकसित गर्ने कम्पनीका अनुसार, यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको छ र यसको कुनै ठूलो साइड इफेक्ट पनि छैन । यद्यपी ठूलो मात्रामा अझै पनि भ्याक्सिनको ट्रायल जारी छ ।
रुसमा कोरोना संक्रमितको संख्या २४ लाखभन्दा बढी छ। तीमध्ये हालसम्म ४२ हजार २०० बढीको मृत्यु भइसकेको छ ।


