खाने तेलको मूल्य १० देखि २० प्रतिशतसम्म बढ्यो |
काठमाडौं । प्रशोधन उद्योगहरुले खाने तेलको मूल्य बढाएका छन् । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यका अनुसार सबैजसो खाने तेलको मूल्य १० देखि २० प्रतिशतसम्म बढेको छ ।
यसअघि औसतमा प्रतिलिटर १७० रुपैयाँ रहेको सूर्यमूखी तेलको मूल्य अहिले २०० रुपैयाँ पुगेको छ । आधा लिटर तेलको मूल्य नै १ सय रुपैयाँ पुगेको छ ।
ब्राण्डअनुसार लिटरमा १०–१२ रुपैयाँ तलमाथि भए पनि सबैजसोको मूल्य बढेको उनले बताए ।
‘होलसेलबाटै बढेर आएको छ, प्याकेटमै लेखिएको मूल्य बढेको छ’ बज्राचार्यले भने । तोरीको तेल, सूर्यमुखी तेल तथा भटमासको तेलमा मूल्य बढेको उनले बताए ।
उनका अनुसार फरक फरक कम्पनीले फरक फरकका दरले मूल्य बढाएका छन् ।
‘ग्राहकले हामीसँग गुनासो गर्छन्, हामीले त होलसेलबाट आएको मूल्यअनुसार निर्धारण गर्ने हो, लेखिएको मूल्यभन्दा बढी हामी लिँदैनौँ’ बज्राचार्यले भने ।
तिहारपछि नै तेलको मूल्य बढेर आएको उनले बताए ।


