उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी , किशोर प्रधान पराजित |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।
३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्ला∕नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याए ।
ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत ल्याएर कूल ५४.२६ प्रतिशत मत ल्याए । प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ल्याउन सके ।
शनिबार राति नै आएको मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतː अध्यक्ष हुने व्यवस्था रहेकाले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।
निर्वाचित समितिकाअनुसार वस्तुगत तर्फबाट नरेशलाल श्रेष्ठ,मनिषलाल प्रधान,मीनमान श्रेष्ठ,अरनीको राजभण्डारी,आकाश अधिकारी,सुवोधकुमार गुप्ता,सन्दिपकुमार अग्रवाल,सकुन्तलाल हिराचन, विष्णु गैरे,आकाश अधिकारी,गोविन्द ढुंगेल, सुमित केडिया, हेमराज ढकाल,भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की निर्वाचित भएका छन् ।
प्रत्येक प्रदेशबाट एकजना कार्यकारिणी समिति सदस्य निर्वाचित हुने विधानको व्यवस्थाअनुसार सातजना सदस्य निर्वाचित भएका छन्। यसमध्ये प्रदेश १ बाट यसअघि नै राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका छन्।
शनिबार भएको निर्वाचनबाट प्रदेश २ बाट विजयकुमार शाह,बाबुराम गिरी,लुम्बिनीबाट शम्शेर मिया,कर्णालीबाट लालिमान बुढा र सुदूरपश्चिमबाट पुष्पराज कुमार निर्वाचित भएका छन् । महासंघका संस्थापक सदस्यहरुबाट दामु अधिकारी निर्वाचित भएका छन् भने द्विराष्ट्रियबाट सन्दिप अग्रवाल निर्विरोध भइसकेका छन् ।
महासंघको एशोसिएट तर्फको उपाध्यक्षमा भने चन्द्र ढकाल प्यानलका रामचन्द्र संघई विजयी भएका छन् । संघईले प्रधान प्यानलका सौरभ ज्योतिलाई पराजित गरेका हुन् । कुल ८९० मत मात्रै खसेकोमा विजयी संघाइले ४५५ मत र ज्योतीले ४३४ मत ल्याएका छन् ।
कूल १९ सदस्य निर्वाचित हुने कार्यकारिणी समिति सदस्यमाभने अधिकांस प्रधान प्यानलबाट निर्वाचित भएका छन् । १९ मध्ये सात जना दुबै प्यानलमा रहेकाहरु निर्वाचित भएका छन् ।
प्रबलजंग पाण्डे, अम्बिका पौडेल, ज्योत्सेना श्रेष्ठ, शैलेन्द्र गुरागाईं, गोपाल खनाल, साहिल अग्रवाल निर्वाचित भएका छन् ।
नेपालमा प्रजातन्त्र प्राप्तिपछि सुरु भएको वाणिक मण्डलदेखि २००८∕०९ सालतिर खुलेको अखिल नेपाल व्यापार संघले पनि अहिलेको महासंघले जस्तै व्यापार र व्यापारीको हकहितमा काम गरेको थियो ।
वि.सं. २००९ सालमा नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संगठनको स्थापना भयो । त्यसैको विकास हुँदै वि. सं. २०२२ सालमा तत्कालीन तदर्थ समितिका संयोजक लोकनाथ जोशीको नेतृत्वमा महासंघको स्थापना भएको थियो ।
उनले २ वर्षसम्म महासंघको नेतृत्व गरेपछि महासंघको अध्यक्षको जिम्मेवारी जुद्धबहादुर श्रेष्ठलाई दिइएको थियो । त्यसपछि निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षहरुले महासंघको नेतृत्व गरिसकेका छन् । १९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २० औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।
Visited 1 times, 1 visit(s) today


