भारतीय विदेश सचिव श्रृंगला काठमाडौं आइपुगे |
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । दुई दिनको औपचारिक नेपाल भ्रमणका लागि उनी बिहान ११ बजे आइपुगेका हुन् । दुई देशबीचको लामो संवादहीनताका बीच भारतीय विदेश सचिव श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आएका हुन् ।
उनी विमानस्थलबाट सिधै होटल याक एन्ड यति पुगेका छन् । विदेश सचिव बनेपछि श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो। उनी बिहीबारदेखि नै उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनेछन्। द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठक तथा परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता सोही होटलमा हुनेछ ।
उनको भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने बताइएको छ । विदेश सचिवको भ्रमण अवसरमा बिहीबारै सचिवस्तरीय संयन्त्रको बैठकसमेत हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रामाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी हुने भएको छ ।
द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठकपछि विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि शिष्टाचार भेटवार्ता गर्दै छन् ।
श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्सिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) ले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् । शुक्रबार हुने उक्त कार्यक्रममा नेपाल(भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे उनले भनाइ राख्ने एआइडिआइएले जनाएको छ । उनी शुक्रबार बिहान साढे १० देखि साढे ११ बजेसम्म उक्त कार्यक्रममा सहभागी हुनेछन् ।
Visited 1 times, 1 visit(s) today


