एनआईसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दीमा सामग्री किन्न पाउने |
काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनोट गर्न सकिने नवीनतम सुविधा ल्याएको हो ।
क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने इलेक्ट्रोनिक्स, घरायसी सामग्री, फर्निचर, टुर प्याकेज, सुन तथा हिराका गरगहनालगायतका सामग्री तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
ग्राहकहरूले क्रेडिट कार्डमार्फत सामग्री खरिद गरेपश्चात् आफूलाई नजिक पर्ने बैंकको शाखामा पुगेर किस्ताबन्दीका लागि आवेदन दिन सक्नेछन् । बैंकले केही दिनभित्रै वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्थासमेत गर्न लागेको छ ।
कोरोना भाइरसको जोखिम कायम रहेको बेला नगद कारोबारको सट्टा डिजिटल कारोबार गर्नु वान्छनीय रहेको र यस विषम परिस्थितिमा आवश्यक सेवा तथा सामग्रीहरू खरिद गर्न सहज गराउनुपर्ने आफ्नो उत्तरदायित्व महसुस गर्दै बैंकले यस्तो योजना’ ल्याएको जनाएको छ ।
यो योजनाबाट एकातिर क्रेडिट कार्ड प्रयोगकर्ताहरूले चाहेको सामग्री तथा सेवा तत्काल प्राप्त गर्ने र अर्कोतिर मर्चेन्टहरूले बिक्री भएको सामग्री तथा सेवाको तत्काल भुक्तानी प्राप्त गरी भरपूर फाइदा उठाउन सहज हुने बैंकको विश्वास छ ।
Visited 4 times, 1 visit(s) today


