अब ‘हाम्रो पात्रो’बाट अडिओ/भिडिओ कल गर्न मिल्ने |
काठमाडौं । ‘हाम्रो पात्रो मोबाइल एपले नयाँ फिचर सार्वजनिक गर्ने भएको छ । यसले भिडिओ तथा अडिओ कलिङ फिचर सार्वजनिक गर्न लागेको हो ।
‘अब यो एपमार्फत भिडिओ/अडिओ कल र मेसेज गर्न मिल्ने भएको छ। हामी अहिले परीक्षणको अन्तिम चरणमा छौं। तिहार अघिसम्म सार्वजनिक गर्ने योजना छ’, हाम्रो पात्रोकी प्रोजेक्ट प्रबन्धक सुदिना गौतमले भनिन् ।
यस विषयमा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले पनि आफ्नो फेसबुक पोष्टमा छिट्टै नयाँ फिचर आउन लागेको बताएका छन् । उनले लेखेका छन्, ‘हाम्रो पात्रोमा छिट्टै केही नयाँ आउँदैछ ।’
कम्पनीको योजनाअनुसार यो फिचर तिहारअघि एनरोइड प्रयोगकर्ताको एपमा उपलब्ध हुनेछ भने आइओएस प्रयोगकर्ताहरुले थप केही समय कुर्नुपर्ने हुन्छ ।
गौतम भन्छिन्, ‘अबको एक महिनाभित्र मात्र सबै प्रयोगकर्ताले यो फिचर चलाउन सक्नुहुन्छ। तत्काललाई हामी पनि परीक्षणमै छौं ।’
हाम्रो पात्रो एप नेपाली एपमध्ये सबैभन्दा धेरै डाउनलोड भएको एप हो ।


