ढल्केबर सबस्टेसन र अन्तरदेशीय प्रसारणलाइन चार्ज |
काठमाडौं । धनुषाको ढल्केबरमा बनेको ४०० केभी ढल्केबर सबस्टेसन फूल लोडमा चार्ज भएको छ । योसँगै ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन पनि ४ सय केभीमा सञ्चालन हुन थालेको छ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले यसलाई महत्वकांक्षी परियोजनाका रुपमा अघि बढाएका थिए ।
मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि यो सबस्टेसन र प्रसारणलाइन महत्वपूर्ण मानिएको छ । जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम सकेर प्रसारणलाइन पनि पूर्ण लोडमा चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि अब ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ । योसँगै नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात(निर्यातका लागि पूर्वाधार तयार भएको छ ।
साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।
सबस्टेसनमा रहने ट्रान्सर्फमहरको क्षमता ९४५ केभी छ, २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ ।
वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच ठूलो परिमाणमा विद्युत ब्यापार गर्न बाटो खुलेको छ । ढल्केबर(मुजफ्फपुर क्रसबोर्डर प्रसारण लाइन अहिलेसम्म २२० केभीमा सञ्चालनमा थियो ।
माथिल्लो तामकोसीबाट पुसभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युतलाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ति हुँदै ढल्केबर ल्याइने छ । यसका लागि आयोजनाले गोंगर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ । खिम्ती–ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ ।
सबस्टेसनमा ३१५एमभीएका तीन वटा गरी ९४५एमभीए क्षमताको ट्रान्सर्फमर छन् । जसले करिब नौ सय मेगावाट विद्युतलाई सहजै प्रसारण गर्न सक्दछन् ।
नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब चार अर्ब रुपैयाँ लगानीमा बनेको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधियुक्त यो सबस्टेसन स्वचालित भएकोले काठमाडौको स्यूचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै सञ्चालन र अनुगमन गर्न सकिन्छ । यसले माग र आपूर्तिको सन्तुलन कायम गर्न वैज्ञानिक प्रणाली निर्माण भएको छ ।
करिब १९ विघा जमिनमा फैलिएको यो सबस्टेसनमा संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेश्रो र प्राधिकरणले खोटाङमा निर्माण गर्न लागेको ६३५ मेगावाट दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइन पनि आएर जोडिने छ ।
Visited 1 times, 1 visit(s) today


