सार्क फाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले साझा डिजिटल मुद्रा अब्लम्बन गरौं ː गभर्नर अधिकारी |
काठमाडौं । सार्कफाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले साझा डिजिटल मुद्रा अवलम्बन गर्नुपर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । हिजो सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागीतामा भएको सार्क फाइनान्स ग्रुप मिटिङमा गभर्नर अधिकारीले सार्क फाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले साझा डिजिटल मुद्रा अवलम्बन गर्न सार्कफाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने बताएका हुन् ।
रिर्जव बैंक अफ इण्डियाले आयोजना गरेको भर्चुअल बैठकमा सहभगि भएका गभर्नर अधिकारीले नेपालको वर्तमान स्थिति एवं कोभड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाहरुको जानकारी गराएका थिए । उनले नीतिगत दरमा कटौती, पुर्नकर्जाको सीमा बृद्धि, कर्जा वर्गीकरण तथा प्रोभिजनीङ व्यवस्था, थप चालु पुँजीको व्यवस्था, कर्जाको पुनरतालिकीकरण÷ पुनर्संरचना लगायतका विषयमा आफ्नो धारणा राखेका थिए । उनले कोभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्यरुपमा बृद्धि भएको र यसले वित्तीय पहुँचमा बृद्धि हुने धारणा राखेको राष्ट्र बैंकले जनाएको छ ।
कार्यक्रममा सार्क फाइनान्स केन्द्रीय बैंकहरुको अध्यक्ष रहको रिजर्व बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले कोभिड–१९ को प्रभाव न्यूनीकरणका लागि कूल गार्हस्थ उत्पादनको १० प्रतिशत बराबरको पोलीसि रेस्पोन्स कार्यान्वयन गरेको उल्लेख गर्दै रिर्जव बैंक अफ इण्डियाले चालेका अन्य नीतिगत व्यवस्था, समग्र आर्थिक परिसूचक एवं वित्तीय अवस्थाका विषयमा जानकारी गराएका थिए ।
उक्त बैठकमा गभर्नर अधिकारीका साथै अन्य केन्द्रीय बैंकहरू दा अफगानिस्तान बैंक, बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, रिजर्व बैंक अफ इण्डिया, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नरहरु, डेपुटी गभर्नरहरु तथा अधिकारीहरूको सहभागिता रहेको थियो ।




