फन्ड ट्रान्फरमा लोकप्रिय बन्दै ‘कनेक्ट आईपीएस’ |
काठमाडौं । डिजिटल फन्ड ट्रान्फरको दुनियाँमा कनेक्ट आईपीएस निकै लोकप्रिय बन्दै गएको छ । नेपाल क्लियरिङ्ग हाउसद्धारा सञ्चालित विद्युतीय भूक्तानी प्रणाली कनेक्ट आईपीएसको सरल, सहज र विश्वसनीय सेवाका कारण प्रयोगकर्ताहरु माझ लोकप्रिय बन्दै गएको हो ।
विद्युत्तीय माध्यमबाट घरमै बसिबसी वा बाटोमा हिड्दा हिड्दै पनि पानी, बत्ती, स्कुल, किनमेल,व्यवसायिक कर लगायत विविध सेवाको बिल भूक्तानी गर्न सकिने भएकाले आईपीएस प्रति आम प्रयोगकर्ताहरु आकर्षित भएका हुन् ।
त्यसो त आईपीएस मार्फत प्रयोगकर्ताहरुले अनलाइन फन्ड ट्रान्सफर देखि सेयर बजारको रकम समेत भूक्तानी गर्न सक्छन् । बैंकको क्रेडिट कार्ड, क्रेडिटर/बिलर भूक्तानी, ई–कमर्स भूक्तानी तथा मोबाइल वालेट टपअफ सेवा समेत लिन सकिने गरी मोबाइल एप बनाएको कम्पनीले पछिल्लो समय कनेक्ट आईपीएस मार्फत मोबाइल बैंकिङ्गको रुपमा एक वा एकभन्दा बढि बैंकिङ्ग खाता लिंक गर्न र सोही एप मार्फत खाता भेरिफाइ गर्ने र धेरैभन्दा धेरै क्षेत्रमा फन्ड ट्रान्सफर गर्न सकिने प्रणालीको विकास गरेको छ ।
यसका साथसाथै आईपीएसमा अझ बढि सेवा सुविधा थप्ने तयारी गरेको कम्पनीले बताएको छ । करिब दुई वर्ष अघि सेवा शरु गरेको कम्पनीले आजको दिनसम्म ४५ बढि बैंकहरुसँग सहकार्य गरिरहेको छ ।
के हो कनेक्ट आईपीएस ? यसको प्रयोग कसरी गर्ने ?
कनेक्ट आईपीएस एक डिजिटल बिल भूक्तानी प्रणाली हो । विद्युतीय अर्थात् अनलाइन प्रणाली मार्फत आईपीएस प्रयोग गरी सबै खालका बिलहरुको भूक्तानी गर्न सकिन्छ । यसका लागि कम्प्युटर, ल्यापटप वा मोबाइलको आवश्यक पर्छ । कम्पनीले आईफोन र एन्ड्रोइड फोन दुबैका लागि मोबाइल एपको व्यवस्था गरेको छ ।
कनेक्ट आईपीएस प्रयोग गर्न चाहनेले गुगल सर्च गरेर वा प्ले स्टोरबाट मोबाइल एप डाउनलोड गरी सेवा लिन सक्छन् । यसका लागि आफ्नो एकाण्ट भएको बैंकको खाता कनेक्ट आईपीएससँग लिंक गर्नुपर्ने हुन्छ ।


