दिल्लीले निकाल्यो चेन्नईमाथि जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो |
काठमाडौं । आइपिएलमा दिल्ली क्यापिटल्स अर्को खेलमा विजयी भएको छ । दिल्लीले शनिबार भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ५ विकेटले पराजित गरेको हो ।
चेन्नईले दिएको १८० रनको लक्ष्य दिल्लीले १ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
दिल्लीको जितमा ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक प्रहार गरे । धवनले नटआउट १०१ रन जोडे। उनले ५८ बलमा १४ चौका र १ छक्का हिर्काए ।
अक्षर पटेलले नटआउट २१ रन बटुले । उनले ५ बलमा तीन छक्का हिर्काए। उनले तीन वटै छक्का अन्तिम ओभरमा हानेका थिए ।
अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको अवस्थामा पटेलले चेन्नईका बलर रविन्द्र जडेजालाई सुरुवाती तीन बलमा दुई छक्का हानेका थिए । चौथो बलमा दुई रन लिएका उनले पाँचौ बलमा अर्को छक्का हिर्काएका थिए ।
त्यसअघि ओपनर पृथ्वी शा दोस्रो बलमै शून्यमा आउट भएका थिए । यस्तै अजिन्का राहाणे ८ रनमा आउट भए। कप्तान श्रेयस इयरले २४ रनको योगदान दिए ।
बलिङमा चेन्नईका दीपक चाहरले २ विकेट लिए । शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन जोडेको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको योगदान दिए ।
यस्तै अम्बाती रायदु ४५ रनमा नटआउट रहे । उनले २५ बलमा १ चौका र ४ छक्का हिर्काए। सेन वाट्सनले ३६ रन र रविन्द्र जडेजाले नटआउट ३३ रन जोडे ।
बलिङमा दिल्लीका एनरिच नोर्कियाले २ विकेट लिए । तुसार देशपाण्डे र कागिसो रबाडाको नाममा १(१ विकेट रह्यो ।
जितसँगै दिल्ली ९ खेलबाट १४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई ९ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ ।
आइपिएलमा आइतबार दिउँसो सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्स तथा साँझ मुम्बई इन्डियन्स र किंग्स ११ पञ्जावबीच खेल हुनेछ।


