ट्राफिक नियम सम्बन्धी ‘ट्राफिक प्रतिबद्धता टोकन’ राख्न सुरु |
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारी तथा गैरसरकारी कार्यालयहरूमा ट्राफिक नियम सम्बन्धी बुँदाहरु राखेर बनाइएको ‘ट्राफिक प्रतिबद्धता टोकन’ राख्न सुरु गरेको छ ।
महाशाखाले उपत्यकामा भएका मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताल, संघसंस्था, वित्तिय संस्था, स्थानीय तहका कार्यालयहरुमा आउने सेवाग्राही तथा कर्मचारीहरूलाई लक्षित गर्दै ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धि सचेतना अभिबृद्धि गराउन ट्राफिक प्रतिबद्धता टोकन राख्ने कार्यको थालनी गरेको हो।
ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र अझ प्रभावकारी बनाउनको लागि यो अभियान सुरु गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए।
‘चौँडा सडक, सडक बत्ती, चिल्ला सवारी साधनले मात्र ट्राफिकको समस्या समाधान हुने हैन। हामीले प्रयोग गर्ने सडक संस्कृतिमा सुधार र परिवर्तन नल्याएसम्म समस्या भइ रहन्छन्। त्यसैले यस्तो अभियानले ट्राफिक व्यवस्थापन एव सडक सभ्यतामा सुधार गर्न सहयोगी बन्ने हाम्रो अपेक्षा हो,’ उनले भने।
ट्राफिक महाशाखाको पहलमा र काठमाडौं महानगरपालिकाको सहकार्यमा बढी सेवाग्राही आउने कार्यालय, प्रतिक्षालय, नागरिक सहायता कक्षहरुमा राख्न ४ सय थान टोकन र सार्वजनिक स्थान, कार्यालय कम्पाउन्ड तथा भिडभाड हुने स्थानमा राख्न ५० थान सूचनामूलक बोर्डहरू निमार्ण गरिएको महाशाखाले जनाएको छ।



