कुन देशमा कति बेला दशैंको टिका लगाउने ? नेपालमा दशैं टिकाको साइत बिहान १०ː१९ बजे |
काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए । नेपालमा दशैंको टिका बिहान १०ː१९ बजे रहेको छ ।
उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको जानकारी दिए । अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दशैंको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको जानकारी दिए ।
समितिका सदस्य सचिव आचार्य सन्तोष वशिष्ठले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम २४ वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिए ।
समितिका अनुसार अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २६ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातː ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ː०७ मा, टेक्सासमा ११ː५७ मा र क्यालिफोर्नियामा ११ː४५मा टीकाको शुभसाइत जुरेको छ । बेलायतको लण्डनमा ११ː३९ बजेको लागि साइत जुरेको छ ।
यसबाहेक क्यानडाको टोरन्टोमा ११ː४३, पोर्चुगलको लिस्बनमा ११ː३७ र फ्रान्सको पेरिसमा २५ सेप्टेम्बरको ११ː४१ मा टीकाको शुभ साइत जुरेको छ ।
यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्ड लगायतका देशमा भने सेप्टेम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ː४३ देखि १०ː३५ सम्म तोकिएको छ ।




