सन् २०२२ को डीभी फारम खुल्यो, यसरी भर्न सकिन्छ |
काठमाडौं । सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार हिजो (बुधबार) नेपाली समयअनुसार राती ९ः४५ बजेबाट आवेदन खुला भएको हो । बुधबारबाट खुला भएको डिभी कात्तिक २५ (नोभेम्बर १०, २०२०) मा बन्द हुने छ ।
दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ। दूतावासले चिट्ठा भर्नका निम्ति आवश्यक परेअनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।
आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन्। निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ ।
अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यस वर्ष प्रयोग गर्न पाइने छैन । अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत पालना गर्नुपर्ने छ। डिभी भर्नका लागि फोटो खिच्दा चस्मासमेत लगाउनु हुँदैन ।
दूतावासका अनुसार यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नैपर्नेछ। डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा तपाईंलाई चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ। तर आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिन दूतावासले आग्रह गरेको छ ।
डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका २०७८ वैशाख २५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ । आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्ने छ। यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेल सूचना पठाइँदैन ।
डिभीका लागि छानिँदैमा कसैले भिसा भिसा पाउने भन्ने हुँदैन । भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्यौल गर्नेछन् ।
इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी :
• आवेदन नि:शुल्क : डि.भी. कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन ।
• कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ बिचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार हुनुहुनेछ ।
• फारम अनलाइन भर्नुपर्ने : सन् २०2२ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
• पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष पुरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।
• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । कृपया ध्यान दिनुहोला : फोटो खिच्दा आवेदकले चश्मा लगाउनु हुँदैन ।
• बहालवाला, म्याद समाप्त नभएको राहदानीको विवरण आवश्यक : यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ ।
• आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।
• आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिनुहोस् ।
• तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे ८, २०२१ (२०७८ वैशाख २५) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नु हो ।



