अर्थमन्त्रीमा पौडेललाई ल्याउने तयारी, नेकपाको सचिवालय बैठक बस्दै |
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । दिउसो ४ बजे बोलाइएको बैंठकमा रिक्त रहेका मन्त्री पदमा नियुक्तीबारे छलफल हुने भएको छ ।
छलफलपछि मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओलीमा पुगेका छन् । रिक्त रहेका पदमा मन्त्रीहरु ल्याएर पूर्णता दिने समझदारी नेकपाका दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको बालुवाटार स्रोतको भनाइ छ ।
अर्थमन्त्री पदमा नेकपा महासचिव तथा सांसद बिष्णु पौडेललाई नियुक्ति गर्ने सम्भावना बढेको छ । यसैगरी, नेकपाका नेता जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई पनि मन्त्री बनाइने सम्भावना बढेको छ । शर्मालाई सञ्चार मन्त्रालयको र पाण्डेलाई सहरी विकास मन्त्रालयको जिम्मेबारी दिने तयारी भइरहेको छ ।
प्रधानमन्त्री ओलीले आफ्ना अति निकट पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्ति गरेको १५ दिन पछि पुन अमेरिकी राजदूत नियुक्त गरेपछि उक्त स्थानमा पौडेललाई ल्याउन लागेका हुन् । पौडेल प्रधानमन्त्रीका अति विश्वासनीय नेता हुन् ।
तर, यता नेकपाका बरिष्ठ नेता माधव नेपाल खेमाहरुले सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउनु पर्ने दवाव दिएका छन् । दाहाल पक्षधरहरुले शर्मालाई अर्थमन्त्री वा गृहमन्त्री बनाउन जोड दिइरहेका छन् । तर, प्रधानमन्त्री ओली भने पौडेललाई अर्थमन्त्री बनाउने अन्तिम तयारीमा पुगेको बालुवाटार स्रोतको भनाइ छ ।




