ऐलानी जग्गामा बसेको भालुवाङ बजारको भाग्य ː प्रदेश ५ को स्थायी राजधानी | दाङको भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय
दाङ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिएका छन् ।
यसअघि राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश–५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश–५ को प्रदेशसभमा मतभेद थियो । प्रदेश–५ का पार्टी इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।
पूर्व माओवादीले भने पार्टी एकीकरण हुनुअघि नै प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निणर्य नै गरिसकेको थियो । माओवादीको प्रदेश कार्यालय समेत दाङमै खोलिएको थियो ।
तर, पूर्व एमाले खेमाभित्र चाहिँ राजधानी दाङ राख्ने कि बुटवलमा राख्ने भन्नेबारे नेताहरुको मत बाझिँदै आएको थियो । शंकर पोखरेललगायतका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने पक्षमा थिए भने महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा थिए । तर, अध्यक्षद्वयबीच दाङमै राजधानी राख्ने सहमति जुटेपछि राजधानीको मुद्दा टुंगो लागेको हो ।
ऐलानी जग्गामा बसेको बजार भालुवाङ
भालुवाङ पश्चिम र पूर्वी नेपाललाई जोड्ने एकमात्रै सडक खण्ड अन्तरगत दाङको एउटा प्रमुख बजार हो । यो बजारको मुख्य स्थानमा ८ मिटर घडेरीको मुल्य तीन करोड सम्म पर्छ ।
भालुवाङ बजारमा सयौं निजी घरहरु निर्माण भइ सकेका छन र अरवौं लगानी छ । तर यसरी निर्माण भएका र भइरहेका सबै भौतिक संरचना वनको जग्गामा भइरहेको र अतिक्रमण गरि घर घडेरी बनाउने क्रम अझैं जारी छ ।
यसरी बनेको बजारलाई राज्यले जग्गाको स्वामित्व नदिए पनि विजुली बत्ति,खानेपानी तथा अन्य सरकारी सेवा सुविधा दिदैं आइरहेको छ ।
वर्षौदेखि भोग चलन गर्दै आएको जग्गाको पूर्जा पाउनुपर्ने स्थानियको माग छ । पूर्जाका लागि यहाँका उद्योगी व्यापारी र स्थानिय वर्षौंदेखि सिंहदरवार धाउने क्रम रोकिएको छैन् ।
नयाँ बन्ने हरेक सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई उनीहरूले हारगुहार गर्ने गरेका छन् । दलका शीर्ष नेतालाई पनि ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराउँदै आएका छन् ।
तर वर्षौ यता फेरिदै आएका हरेक प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका शिर्ष नेताहरुले जग्गाको स्वामित्व दिलाई दिने आश्वासन पाउँदै आएका छन् तर पूर्जा भने पाउन सकेका छैनन् ।
समस्याका बावजुद लामो समयसम्म गुमनामजस्तै रहेको दाङको भालुवाङ बजार एकाएक चर्चामा आएको छ । नेकपाले प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गरेपछि भालुवाङ एकाएक राष्ट्रिय राजनीतिको चर्चामा आएको छ ।
तर, यो कुरा दाङवासीका लागि सरप्राइज भने होइन । मुख्यमन्त्री शंकर पोखरेलले केही महिना अगाडिदेखि नै प्रदेश ५ को स्थायी राजधानीमा भालुवाङ बजारसमेत समेटिने संकेत दिइसकेका थिए ।
पोखरेलले ‘भर्जिन ल्याण्ड’मा राजधानी बन्ने बताउने गरेका थिए । भर्जिन ल्याण्ड भनेर उनले दाङको राप्ती गाउँपालिकामा पर्ने भालुवाङबजारसहित पूर्वको अर्घाखाँचीको शीतगंगा नगरपालिका र उत्तरको प्युठानको केही भूभागलाई समेट्ने संकेत दिइसकेका थिए ।
भालुवाङसँग जोडिएको अर्घाखाँची र प्युठानको भूगोल समथर छैन । त्यसैले तीनैवटा जिल्लालाई छोए पनि अन्ततː प्रदेश ५ को राजधानीको धेरै भाग भालुवाङसहित दाङको राप्ती गाउँपालिकामै बन्नेमा दाङवासी विश्वस्त छन् । राप्ती गाउँपालिकाको प्रमुख बजार भालुवाङ नै हो ।
प्रदेश ५ सरकारले शुक्रबार भालुवाङ बजार र त्यस आसपासको राप्ती किनारले समेटेको उपत्यकालाई स्थायी राजधानी बनाउने निर्णय गरेको छ । र, यो प्रस्ताव शुक्रबार नै प्रदेश सभामा दर्ता भइसकेको छ ।
हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दाङवासी हुन् । दाङबाटै चुनाव जितेर कृष्णबहादुर महरा सभामुख बनेका थिए । उनीहरुको चुनावी नारा दाङलाई प्रदेश राजधानी बनाउने भन्ने थियो । तर, प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै दाङवासीले असन्तुष्टि जनाउँदै विभिन्न तरिकाले दबाव सिर्जना गर्दै आएका थिए ।
दाङ जिल्लाको सानो व्यापारिक केन्द्र हो भालुवाङ । यो राप्ती गाउँपालिकामा पर्छ । राप्ती गाउँपालिकाको प्रशासनिक केन्द्र मसुरिया भए पनि व्यापारिक केन्द्र भने भालुवाङ नै हो । चुरे पहाडको फेदमा र राप्ती नदीको किनारमा पर्ने भालुवाङ अर्घाखाँची र प्यूठान जिल्लासँग जोडिएको छ ।
पूर्व–पश्चिम राजमार्ग हुँदै पूर्वबाट पश्चिमतिर जाँदा अर्घाखाँचीको थोरै भूभाग छिचोलेर दाङ उपत्यकाको भालुवाङ प्रवेश गरिन्छ । राप्ती नदीको पुल पार गरेपछि भालुवाङको अहिलेको मुख्य बजार पुल्चोक टेकिन्छ । यहीँबाट प्युठान हुँदै रोल्पा जाने राजमार्ग छुट्टिन्छ । प्युठान र रोल्पा जाने नाकासमेत हो भालुवाङ ।
ँ
Visited 1 times, 1 visit(s) today


