पठाओले खाना डेलिभरी गर्दै |
काठमाडौं । पठाओले खाना डेलिभरी सेवा सुरु गर्ने भएको छ । पठाओ नेपालको स्थापना भएको २ वर्षको अवसरमा कम्पनीले यस्ताे सेवा सुरु गर्न लागेको हो ।
अर्को हप्तादेखि यो सेवा सुरु हुने पठाओका क्षेत्रिय निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिए ।
अन्य खाना डेलिभरी कम्पनी भन्दा पठाओको सेवा पृथक हुने उनको दावी छ ।
‘धेरै टाढाको डेलिभरी लिँदा खाना सेलाउने र समय पनि धेरै लाग्ने भएकोले हामीले ग्राहकको लोकेसनको ४ किलोमिटर भित्रको रेष्टुरेन्टको मात्र अर्डर लिन्छौं र पछि यसको दुरी अझै घटाउँछौं,’ उनले भने ।
ग्राहकले धेरै पर्खनु नपरोस भनेर एउटा राइडरले, एउटा रेष्टुरेन्टबाट एउटा ग्राहकको खाना डेलिभरी गरेपछि मात्रै अर्को डेलिभरी गर्न पाउने बस्न्यातले जानकारी दिए ।
पठाओमा खाना अर्डर गर्दा न्यनतम जति रुपैयाँको पनि अर्डर गर्न पाइने छ ।
‘हामीले ५० रुपैयाँको खाना पनि डेलिभरी गर्छौ तर एउटा अर्डरको एक सय रुपैयाँ डेलिभरी चार्ज लाग्ने छ,’ उनले भने ।
बस्न्यातकोअनुसार हाल उपत्यकामा करिव १ सय वटा रेष्टुरेन्टसगँ सम्झौता भएको छ । निकट भविष्यमा यसको सङ्ख्या एक हजार बनाउने तयारी छ ।



