दशैंका लागि खाद्यले ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने |
काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष सर्वसुलभ रुपमा विक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसीरबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो ।
यो दशैंका लागि १४ सय च्याङ्ग्रा र १६ सय खसीरबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताइन् ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ ।
च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।
कति संख्यामा खरिद गर्ने भन्ने एकीन भएपनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताइन् ।
संस्थानले विगत वर्षहरु जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताइन्। कहिलेबाट कहाँ कहाँ यस्ता पसल सञ्चालन हुने भन्नेबारे भने कम्पनीले अहिलेसम्म निर्क्यौल गरिसकेको छैन ।
आफ्नै आउटलेटसहित अन्य स्थानमा सुपथ मुल्य सपल सञ्चालन गरिने सुवेदीले बताइन् । संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।


