भारतमा एकै दिन ९६ हजार जनामा काेराेना संक्रमण |
भारतमा पछिल्लो २४ घण्टामा भारतमा ९६ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार २४ घण्टामा भारतमा ९६ हजार ४२४ सङ्क्रमित थपिएका हुन् ।
योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या ५२ लाख १४ हजार ६७८ बढी पुगेको छ। यस्तै २४ घण्टामा कोरोनाकै कारणले एक हजार १७४ जनाको मृत्यु भएको छ ।
भारतमा कुल सङ्क्रमितमध्ये अहिले पनि दश लाख १७ हजार ७५४ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने ४१ लाख १२ हजार ५५२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार १३५ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख तीन हजार ६५० जना सक्रिय सङ्क्रमितहरु छन् ।
त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना सङ्क्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन्। भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ ।


