ई–कमर्शबाट कमाएको विदेशी मुद्रा सजिलै नेपाल ल्याउन सकिने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले ई–कमर्श लगायतका कारोबार बापत अनलाईन वित्तीय सेवा मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने गरी नयाँ व्यवस्था गरेको छ ।
केन्द्रिय बैंकले सूचना प्रविधि सम्बद्ध दक्षतारविज्ञताको निकासी बिक्री बापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए बापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिकरव्यापारिक कारोबार बापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुने जनाएको छ । यससँगै अब युट्युब लगायतका सामाजिक सञ्जालहरुमार्फत कमाएको रकम समेत नेपालकै बैंकबाट प्राप्त गर्न सकिनेछ।अनलाइन माध्यमबाट कमाएको विदेशी मुद्रा नेपाल भित्र्याउन अब सजिलो हुने भएको छ ।
यसअघि यस्तो भुक्तानी वेष्टर्न युनियन मनि ट्रान्सफर लगायत रेमिट्यान्स कम्पनीमार्फत् हुँदै आएको थियो ।
त्यस्तो रकम सुरुमा स्वदेशी बैङ्क खातामा विदेशी मुद्राको रुपमा जम्मा हुन्छ । आवश्यकता अनुसार तोकिएको सीमाभित्र रहेर त्यस्तो रकमलाई स्वदेशी रकमान्तर गर्न सकिन्छ ।
तर नेपालबाट विदेश पठाउने मुद्राको सन्दर्भमा भने विदेशी विनिमय विभागको निर्देशन अनुसार हुने प्रष्ट पारिएको छ । ‘विदेशी मुद्रा आर्जन गर्ने प्रयोजनका लागि त्यसबापत लाग्ने शुल्क वा रोयल्टी भुक्तानीका लागि भने विदेशी विनिमय विभागले जारी गरेको निर्देशन पालना गर्नुपर्नेछ’ विभागले भनेको छ ।
त्यसरी कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थाले यस्तो कारोबारको मासिक विवरण प्रत्येक महिना सकिएको १५ दिनभित्र विभागमा पेश गर्नुपर्ने विभागले उल्लेख गरेको छ ।
Visited 1 times, 1 visit(s) today


