काठमाडौ उपत्यकामा हालसम्मकै धेरै ५७२ जना थपिए कोरोना संक्रमित, देशभर कुल संक्रमित ५० हजार नाघे | कोरोनाबाट थप ५ जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्मकै धेरै ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा उपत्यकामा सो संख्यामा कोरोना संक्रमित थपिएको हो । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएकै दिन संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा बितेको २४ घण्टामा ४९५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।
यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ ।


