सुन्दर यातायातले विद्युतिय ट्याक्सी संचालन गर्ने |
काठमाडौं । सुन्दर यातायात प्रालीले विद्युतिय ट्याक्सी संचालन गर्ने भएकाे छ । विद्युतिय बस संचालन गरेको एक वर्षको अवसरमा प्रालीले कोभिड—१९ को अवस्था सामान्य हुने वित्तिकै नेपाल सरकारको मापदण्डभित्र रहेर उपत्यका तथा देशको विभिन्न शहरहरु भित्र विद्युतीय ट्याक्सी सञ्चालनमा ल्याइने विज्ञप्तीमार्फत जानकारी गराएकाे हाे ।
पहिलो चरणमा २५ वटाबाट सुरु गरेर पछि बढाउँदै लैजाने तयारी रहेको प्रालीका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए ।
‘सरकारले विद्युतिय ट्याक्सीको मापदण्ड पनि बनाइसकेको छ । विभागिय मन्त्रीले कुनैपनि प्रकारको विद्युतिय सार्वजनिक यातायातलाई प्रोत्साहन गर्छु भन्नु भएकोले हामीले ट्याक्सी संचालन गर्ने तयारी गरेका हौ,’ उनले भने ।
हाल सुन्दर यातायातको भातृ संस्था सुन्दर यातायात ट्रेडर्सले विद्युतिय सवारी साधन आयात गरिरहेको छ । ती ट्याक्सी पनि ट्रेडर्सले नै आयात गरेर सुन्दर यातायात प्रालीले संचालन गर्ने उनले जानकारी दिए ।
‘ ट्याक्सी आयात गर्न हाम्रो तर्फबाट सम्पूर्ण प्रकृया पुरा भइसकेको छ । कोभिडको महामारीपछि ट्याक्सी सेवा दिने तयारी छ,’ उनले भने ।
सुन्दर यातायात ट्रेडर्सले ल्याउने गाडी ठूला सेडान कार भएकोले व्यक्तीगत प्रयाजनका लागि समेत प्रयोग गर्न सकिने उनले जानकारी दिए ।


