मन्त्रिपरिषद बैठक बस्दै, खतिवडाले राजीनामा दिने, अर्थमन्त्रीको दौडमा देखिए करिब आधा दर्जन नेता |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन् ।
शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।
खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेपनि उनलाई प्रधानमन्त्री ओलीले रोकेका थिए । बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए ।
राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।
आधा दर्जन आकांक्षी
अर्थमन्त्री दौडमा करिब आधा दर्जन नेताले देखिएका छन् । दुइ चार दिनमा नै मन्त्रीमण्डल पुर्नगठन हुने निश्चित भएको नेकपाका एक उच्च नेताले बताए । एकाथरीले पुर्नगठित मन्त्रीमण्डलमा बामदेव गौतमलाई उपप्रधान सहित अर्थमन्त्री बनाउने तयारी पनि भएको बताएका छन् ।
तर अर्काथरी भने प्रधानमन्त्री केपी ओलीले बामदेवलाई राष्ट्रियसभामा लगे पनि अर्थमन्त्री बनाउने सम्भावना नभएको बताउँछन् । प्रधानमन्त्रीका अति निकट मानिने अहिलेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलाई अर्थमन्त्रीको जिम्मेबारी दिने तयारी भइरहेको पनि बुझिएको छ ।
यसैगरी, नेकपामा पूर्व अर्थमन्त्री र पार्टीका महासचिव बिष्णु पौडेल तथा सुरेन्द्र पाण्डे पनि अर्थमन्त्रीको दौडमा रहेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफु निकट नेता जर्नादन शर्मालाई अर्थमन्त्रीको बनाउने योजनामा छन् ।
प्रधानमन्त्री ओलीको पहिलो रोजाई पूर्व अर्थमन्त्री समेत रहेका पार्टीका महासचिव बिष्णु पौडेललाई पुनː अर्थमन्त्रालयका जिम्मेबारी दिने तयारी गरिरहेको पनि बुझिएको छ । अर्थमन्त्रीको दौडमा रहेका यिनै नेतामध्येबाट अब अर्थमन्त्री हुने प्रायː निश्चित भएको छ । तर, दौडमा कसले मार्छ बाजी त्यो हेर्न भने केही दिन कुर्नु पर्ने भएको छ ।


