टिभिएसका बाइक, स्कुटर र टेम्पो एसेम्बल्ड नेपालमै शुरु |
काठमाडौं । शंकर समूहको जगदम्बा मोटर्सले टिभिएसका बाइक, स्कुटर र टेम्पो नेपालमै एसेम्बल्ड गर्न शुरु गरेको छ । समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले नेपालमै टिभिएसका बाइक, स्कुटर र टेम्पो एसेम्बल्ड शुरु भएको जानकारी दिए । ‘सुरुमा हाम्रो यो प्लान्टबाट अपाचे सिरिजका बाइक, स्कुटर र तीन पांग्रे टेम्पो उत्पादन शुरु भएको छ,’ उनले भने ।
सिमरामा रहेको प्लान्टबाट केही दिन अघिदेखि बाइक उत्पादन थालेको हो ।
पाँच बिघा क्षेत्रफलमा रहेको प्लान्टमा समूहले एक अर्ब लगानी गरेको छ । यो प्लान्टबाट वार्षिक एक लाख मोटरसाइकल तथा स्कुटर उत्पादन हुन्छ भने तीन पांग्रे टेम्पो १० हजार उत्पादन हुने क्षमता छ । उद्योगमा सय जनाले रोजगारी पाएका छन् । यो प्लान्टमा काम गर्ने इन्जिनियर बढी छन् ।
स्वदेशमै एसेम्बल्ड भए पनि तत्कालै भने मोटरसाइकलको मूल्य भने घट्दैन । बजाजले पनि स्वदेशमै मोटरसाइकल उत्पादन गरेपनि मूल्य घटेको थिएन । सरकारले राजस्वमा दिएको सहुलियत पर्याप्त नभएकाले स्वदेशमै उत्पादन थाले पनि मूल्य घटाउन सकिने अवस्था नरहेको उनीहरु बताउँछन् ।
अग्रवालले एसेम्बल्ड प्लान्ट राखेर बाइक बिक्रीलाई मात्रै नहेरी रोजगारी र अर्थतन्त्रलाई समेत फराकिलो बनाउन सहयोग पुग्ने बताए ।
केही वर्षअघि पनि चिनियाँ कम्पनीको अन्ना लिफानले नेपालमा एसेम्बल्ड प्लान्ट स्थापना गरेर मोटरसाइकल उत्पादन गरेको थियो । तर आफ्नो उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसकेर उक्त उद्योग बन्द भएको थियो ।

