भारतीय अर्थतन्त्र ४० वर्षयताकै खराब अवस्थामा |
काठमाडौं । भारतको अर्थतन्त्र पछिल्लो चार दशक यताकै खराब अवस्थामा पुगेको छ । पछिल्लो त्रैमासिक रिपोर्टमा भारतको आर्थिक वृद्धिदर झण्डै २४ प्रतिशतले ऋणात्मक देखिएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासिक अर्थात अप्रिल–जुनसम्मको अवधिमा भारतको अर्थ व्यवस्थामा २३.९ प्रतिशत गिरावट देखिएको हो । आउँदो त्रैमास (जुलाई–सेप्टेम्बर) मा पनि खासै सुधार आउने सम्भावना नरहेको अर्थशास्त्रीहरुले बताएका छन् ।
पछिल्लो ४ दशक अवधिमा भारतको अर्थतन्त्र पहिलो पटक यतिधेरै मन्दीको अवस्थामा गएको उल्लेख गरिएको छ । यसअघि पनि अर्थतन्त्र खराब भएता पनि अहिले जस्तो अधिक प्रभावित भने भएको थिएन । स्वतन्त्रतापछिको भारतको इतिहासमा पहिलोपटक अर्थ व्यवस्थामा झण्डै २४ प्रतिशतको गिरावट आएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
कोरोना भाइरस महामारीका कारण अर्थ व्यवस्था अति कमजोर बनेपछि मोदी सरकारको आलोचना समेत सुरु भएको छ । कोरोना भाइरसका कारण लक डाउन तथा अन्य प्रतिबन्धात्मक व्यवस्था लागू गर्दा त्यहाँको अर्थतन्त्रमा नकारात्मक असर परेको हो । उद्योगधन्दा अपेक्षा अनुसार चल्न सकेका छैनन् । उत्पादन घटेको छ । रोजगारीहरु कटौती भएका छन् ।
एजेन्सीको सहयोगमा
Visited 1 times, 1 visit(s) today


