निषेधाज्ञालाई निरन्तरता दिने तयारी, उपत्यकाका तीन प्रजिअको बैठक बस्दै |
काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बुधवार मध्यरातबाट सकिँदै छ । निषेधाज्ञाको समय सकिनुअघि मंगलबार दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु जनकराज दाहाल, हुमकला पाण्डे र नारायण प्रसाद भट्ट बैठकमा बस्दै छन् ।
तीनवटै जिल्लाका जिल्ला सुरक्षा समितीको निर्णयले भदौ ३ को मध्यरातदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समय सकिनुअघि बस्ने बैठकले आगामी रणनीति बनाउने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा निषेधाज्ञाको कार्यान्वय अवस्था समीक्षा गर्ने र भावी रणनिती तय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी र उपत्यकाका तिनवटै जिल्लाका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)को बैठकबाट निषेधाज्ञाको समयसीमा थप गर्ने तयारी गरिएको छ ।
स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीहरुले अहिलेकै मोडलको निषेधाज्ञालाई थप एक साता बढाउने तयारी गरेका छन् ।
Visited 1 times, 1 visit(s) today


