आइएफसीमा नेपालले पूँजी थप्ने, थप ४२ करोडको शेयर किन्दै |
काठमाडौं । नेपाल सरकारले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)मा पूँजी थप गर्ने भएको छ । आइएफसीले पुँजी बढाउने निर्णय गरेपछि सरकारले अहिलेको मौजुदा भोटिङ राइट्स तथा पुँजी अनुपातलाई कायमै राख्नका लागि थप गर्ने भएको हो ।
पुँजी थप गर्नका लागि मन्त्रिपरिषदले अर्थमन्त्रालयलाई अनुमति दिइसकेको छ । विश्व बैंकको निजी क्षेत्रका लागि लगानी गर्ने यो निकायमा नेपालको ०.०३ प्रतिशत लगानी छ । आइएफसीको कुला पुँजी २ अर्ब ५६ करोड ६७ लाख १९ हजार अमेरिकी डलर रहेको छ ।
नेपालले अब ३ हजार ५५८ कित्ता शेयर किन्ने छ । प्रतिशेयर १ हजार डलर पर्ने यसमा नेपाल सरकारले ४२ करोड बढी लगानी गर्नुपर्ने छ । यो लगानीपछि नेपालको भोटिङ राइट ०.०१ ले बढ्छ । सरकारले गएको वर्ष पनि विश्व बैंकमा पनि लगानी थप गरेको थियो ।
शेयर लगानीकै आधारमा भोटिङ अधिकार हुने यसमा नेपालको भोटिङ अधिकार भने १ हजार ६३७ थियो । जुन कूल भोटिङ राइट्सको ०.०६ प्रतिशत हो । अब यस्तो प्रतिशत बढेर ०.०७ प्रतिशत हुने छ ।
आइएफसीमा सबैभन्दा धेरै अमेरिकाको २२ प्रतिशत लगानी छ भने उसको भोटिङ अधिकार पनि २० प्रतिशत छ ।
नेपाल सरकारले यसरी लगानी गरेको रकम भने सन् २०२४ र २०२५ मा भुक्तानी गर्ने छ ।


