सानिमा बैंकको नाफा २४.५३ प्रतिशतले घट्यो |
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा २४.५३ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकको यस्तो नाफा २ अर्ब २५ करोड रुपैयाँ थियो । गत आर्थिक वर्ष बैंकको नाफा ५५ करोड रुपैयाँले घटेको हो। बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ छ ।
कारोनाको प्रभावका कारण बैंकको व्यवसाय विस्तारमा असर पर्दा उसको खुद नाफा घटेको हो। केन्द्रिय बैंकले दिएको निर्देशनले बैंकको ब्याज आम्दानी घटेको छ भने खराब कर्जा पनि बढ्दै गएको छ ।
गत आर्थिक वर्षको चौथो त्रेमाससम्ममा बैंकले ४ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको यस्तो आम्दानी ४ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, सञ्चालन नाफा भने निकै घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत वर्ष २ अर्ब ४१ करोड रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको छ । बैंकको इम्पेरिमेन्ट चार्ज बढेका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो। समीक्षा अवधीमा बैंकको इम्पेरिमेन्ट चार्ज २१ करोड ८२ लाख रुपैयाँबाट बढेर ८८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको कर्मचारी खर्च केहि घटेको छ भने अन्य सञ्चालन खर्च ५१ करोडबाट बढेर ५७ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि बढेको छ । यस अवधिमा बैंकको खराब कर्जा ०.०८ प्रतिशतबाट बढेर ०.४८ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८९ अर्ब ३७ करोड रुपैयाँबाट बढेर १ खर्ब ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८१ अर्ब ४१ करोड रुपैयाँबाट बढेर ९० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्ममा बैंकको आधार दर ८.६२ प्रतिशत रहेको छ भने स्प्रेड दर ३.४७ प्रतिशत रहेको छ । त्यस्तै, सिसिडी रेशियो ७४.७२ प्रतिशत र कोषको लागत ६.६६ प्रतिशत छ ।
८ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब ११ करोड रूपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २२ पैसाबाट घटेर १९ रुपैयाँ ३५ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात १७.०५ गुणा रहेको छ ।


