आज राति १२ बजेदेखि बुटवलमा लकडाउन |
बुटवल । कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन थपिँदै जान थालेपछि बुटवल उपमहानगरपालिकामा लकडाउन गरिएको छ ।
बुधबार प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशी, सुरक्षा निकायका प्रमुख तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित बसेको बैठकले बुटवलमा पुनː लकडाउन गर्ने निर्णय गरेको हो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म ९ दिन लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिइन् ।
अचानक लकडाउन गर्दा बुटवलबाट अन्यत्र जाने र बुटवल आउनेहरुलाई हुनसक्ने समस्यालाई मध्यनजर गरी एकदिनको समय दिएर लकडाउन गर्ने निर्णय गरिएको आचार्यले बताइन् ।
लकडाउन घोषणा गरिएपछि बुटवलमा अत्यावश्यक सेवाका सवारी साधन, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने साधन लगायत अत्यावश्यक सेवा मात्र संचालन हुने छन् ।
साउन महिना लागेसँगै लकडाउन हटेपछि बुटवलमा यातायात बाहेकका सेवाहरु संचालन हुने क्रम बढिरहेको थियो । प्रदेशको अस्थायी राजधानी रहेका कारण दैनिक आवतजावत गर्ने व्यक्तिहरुको चाप बढिरहेको र कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि लकडाउन गर्ने निर्णय गरिएको उपप्रमुख आचार्यले जानकारी दिइन् ।


