फिल्मी शैलीमा गोंगबु हत्याकाण्ड, आरोपीले डेराबाट नियालिरहिन् ‘अप्रेशन जोजो’ |
काठमाडौं । गोंगबुको नवज्योती मार्गमा शनिवार राती दाङका कृष्णबहादुर बोहोराको हत्या भयो । रोल्पा रुन्टीगढीका बोहरा पछि दाङ झरेका हुन् ।
आइतबार विहान सुटकेशमा शव भेटियो । टुक्रा–टुक्रा पारिएको थियो । हत्या गरिएको घरबाट ५० मिटरको दुरीमा शव फेला परेको थियो । जुन शवलाई हत्या गरिएको ठाउँबाट चियाएर हेर्न सकिन्थ्यो ।
नवज्योती मार्गमा बिहानै प्रहरीको ठूलो फौज पुग्यो । छुट्टिएको शवको टाउको पत्ता लगाउन नेपाल प्रहरी कुकुर तालिम विद्यालय, महाराजगञ्जबाट ‘जोजो’ नामको कुकुर ल्याइयो । जोजोले छिनभरमै शवको टाउको र खुट्टा भेट्टायो ।
हत्यारा खोज्न आइतबार दिनभर सादा पोशाकका प्रहरी सो क्षेत्रमा खटिए । अप्रेशनको नाम राखियो– ‘अप्रेशन जोजो ।’ शंकास्पद घर र होटलमा सर्च अप्रेशन चल्यो । तर, ५० मिटरको दुरीमा रहेको निलो रंगको किरण बस्नेतको घरमा हत्या भएको कसैले चाल पाएन ।
ट्रयाकर डग ‘जोजो’को एक्सन र प्रहरीको अप्रेशन दुवै नियालिरहेकी थिइन्, ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) । उनी, जुन डेराको झ्यालबाट प्रहरी अपशन चियाइरहेकी थिइन्, त्यहि डेरामा कृष्णबहादुरको हत्या भएको थियो । त्यो हत्या आफैंले गरेकी थिइन् ।
दिनभर प्रहरी अप्रेशन नियालेरहेकी कल्पनाले बेलुकामात्र नवज्योती मार्ग छाड्नि । त्यो पनि सिन्को झरेको पनि नियालेर बसेका काविल अफिसरहरुकै अगाडिबाट टाप ठोकिन, एम्बुलेन्सको साइरन बजाउँदै ।
प्रहरीले आइतबार दिनभर गोंगबुका एक हजार बढी घरहरूमा सोधपुछ तथा खोजी गर्योो । शवको पहिचान नै हुन सकेन। शवको सनाखत गर्नु नै प्रहरीका लागि चुनौती बन्यो ।
२४ घन्टासम्म सनाखत नभएपछि सोमबार दिउँसो प्रहरीले शवको टाउकोलाई ’इडिट’ गरी तस्बिर सार्वजनिक गर्यो । तस्बिर सार्वजनिक भएको केही समयमै मृतकका मामा प्रहरी सम्पर्कमा आए ।
मृतक रोल्पा रून्टीगढी गाउँपालिका–७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय कृष्ण बहादुर बोहोरा थिए। त्यसपछि प्रहरीलाई उनको हत्या कसरी र कसले गरेको हो भन्ने थाहा पाउन धेरै समय लागेन ।
मामाबाटै प्रहरीले थाहा पाए उनी विगत ८ महिनादेखि गोंगबुको एक होटलमा बस्दै आएका थिए भने नयाँबजारस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे ।
’सनाखत भएपछि हामीले होटलमा बस्ने मानिसहरूसँग सोधपुछ गर्यौं,’ एसपी ईश्वर कार्कीले भने,’उसका साथीभाइहरू पत्ता लगाएर मृतक कहाँकहाँ जान्छन् त भनेर हेरेपछि घटनास्थलसम्म पुग्यौं ।’
त्यसपछि प्रहरी नवज्योतिमार्गस्थित ३७ वर्षीया कल्पना मुडभरी पौडेलको फ्ल्याटमा पुग्यो । त्यहाँ पुग्दा उनको कोठामा ताला लगाइएको थियो । कल्पना भने थिइनन् ।
प्रहरीले उनको फ्ल्याटमा खोजतलासी गर्दा प्रहरीले खुकुरी, ह्याम्मर, रगतका दाग देखेको एसपी कार्कीले बताए । ’चाहिने सबुतहरू सबै फेला परेपछि घटना यतै भएको हो भन्ने थाहा पायौं। अनि कल्पनाको खोजी गर्यौंस,’ एसपी कार्कीले भने, ’उनी चितवनको माइतीमा भएको पत्ता लागेपछि सोमबार नै पक्राउ गर्यौं ।’
उनलाई प्रहरीले चितवन कालिका नगरपालिका–७ बाट पक्राउ गरी सोमबार राति नै काठमाडौं ल्याइएको थियो । कृष्णबहादुर र कल्पना बीच ३∕४ वर्षअघि फेसबुकबाट चिनाजान भएको थियो । प्रहरीकाअनुसार कृष्णबहादुर कल्पनाको कोठामा बेलाबेलामा जाने गर्थे । कल्पनासँगै दुई छोरीछोरा बस्थे । उनका श्रीमान् भने विदेशमा छन् ।
केही समयअघि कृष्णले कल्पनाको नामबाट नक्कली फेसबुक आइडी बनाएर उनका नग्न तस्बिर राखेपछि आफूले उनको हत्या गरेको बयान उनले प्रहरीलाई दिएकी छन् ।
हत्याका पछाडि आर्थिक लेनदेनको कुरासमेत हुन सक्ने एसएसपी श्याम ज्ञवालीको आशंका छ । ’यसमा आर्थिक लेनदेनको कुरा पनि हुन सक्छ तर अहिले बदलाको भावमा हत्या गरेको खुलेको छ,’ उनले भने ।
कसरी गरियो हत्या ?
शनिबार कल्पनाले कृष्णलाई आफ्नै फ्ल्याटमा बस्नेगरी बोलाइन्। कृष्ण साँझपख होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी चढेर उनको फ्ल्याटमा गए । कल्पनाले उनको हत्या गर्ने पहिले नै योजना बनाइसकेकी थिइन् ।
कल्पनाले कृष्णलाई खुवाउन दही, चिउरा, मासु र भोड्कासमेत तयार पारेकी थिइन्। खानेकुरासँगै उनले स्लिपिङ ट्याब्लेट, ह्यामरसमेत छेउमै राखेकी थिइन् । कल्पनाले दश एमजीको पाँच वटा निन्द्राको औषधी दहीमा हालेर कृष्णलाई दिइन् ।
’मृतकलाई रक्सी पनि खुवाइन्। दहीमा निन्द्राको औषधी हालेर दिइन्,’ एसएसपी ज्ञवालीले भने,’लठ्ठ भएर सुतेको मौकामा ह्याम्मरले मृतकको अण्डकोष हानिन् ।’
अण्डकोषमा हानेर पनि कल्पनाले कृष्ण मरे कि मरेनन् भनेर सलले घाँटीमा थिचेको प्रहरीलाई बयान दिएकी छन् । प्रहरीका अनुसार कल्पनाले शनिबार बेलुकी ९ बजेसम्म कृष्णबहादुरको हत्या गरिसकेकी थिइन् ।
मारिसकेपछि उनी शव व्यवस्थापन गर्नतिर लागिन् । सिंगो शव व्यवस्थापन गर्न नसकिने ठानेपछि टुक्राटुक्रा पार्ने योजना बनाइन् । उनले टाउको र खुट्टा काटिन् ।
’मारेको आधा घन्टामै उनले झोलामा टाउको र खुट्टा राखेर फालेर आइन्,’ महाशाखाका एसएसपी दीपक थापाले भने,’त्यत्तिञ्जेल एउटै फ्ल्याटमै रहेका उनका छोरा र छोरीलाई घटनाबारे थाहै थिएन ।’
बाँकी रहेको शव उनले सुटकेशमा हालिन् । बोक्न खोजिन्, तर बोक्न सकिनन् । ‘अनि अर्को कोठामा रहेकी छोरीलाई बोलाएर सबै कुरा बताइन्,’ थापाले भने ।
सुटकेश बोक्न कल्पनाले नाम्लो लगाइन् । पानी परिरहेको हुदाँ छोरीलाई छाता ओढाउन लगाइन् । छोरीले आमाको पिठ्यूँमा रहेको सुटकेशलाई एक हातले सघाइन् अर्को हातले छाता ओढाइन् ।
प्रहरीले यस घटनामा १५ वर्षीया छोरीको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएको छ । नाबालक भएकोले उनको पहिचान भने खुलाएको छैन ।
’नाम्लोले बोकेर २०∕२५ मिटर परको सुटकेश छाडिएको छ,’ एसएसपी थापाले भने,’त्यो ठाउँमा पनि बोक्न नसकेपछि भारी भएर छाडेको देखिन्छ ।’ घटनापछि उनी फ्लाटमै फर्किइन् ।
उनी एम्बुलेन्समा चढेर चितवन गएकी थिइन् । प्रहरीका अनुसार ती चालक र कल्पनाबीच पूरानो चिनजान थियो। चितवन जान एम्बुलेन्स चालकलाई उनले ६ हजार दिएकी थिइन् ।
प्रहरीले यस घटनामा १५ वर्षीया छोरीको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएको छ । नाबालक भएकोले उनको पहिचान भने खुलाएको छैन ।
कल्पनामाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।
उनकी छोरीमाथि भने कर्तव्य ज्यानमा मतियार बनेको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त मुद्दामा दोषी ठहरिए ६ देखि १० वर्ष जेल सजाय हुन सक्छ ।


