नबिलको मोबाइल बैंकिङमा नयाँ सुविधा, चेक बिना पैसा कसरी निकाल्ने ? |
काठमाडौं । नविल बैंकले साउन १३ गतेदेखि डिजिटल सेवालाई विस्तार गरेको थियो । ‘स्क्यान एन्ड वीड्र’ नामको यो सेवा किफायति र आधुनिक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताएका थिए ।
यो सेवा मोबाइल बैंकिङको विस्तार सेवा हो। अर्थात् नविल बैंकको मोबाइल बैंकिङमा थपिएको सेवा यो हो । मोबाइल बैंकिङ चलाइरहेका ग्राहकहरुले यसअघि विभिन्न ठाउँमा भुक्तानी, ट्रान्सफर जस्ता सुविधा पाउँदै आएका थिए । अब भने क्यास निकाल्न पाउने सुविधा पनि पाएका छन् ।
'अहिलेसम्म मोबाइल बैंकिङ भनिएपनि त्यसको काम केही सिमित क्षेत्रमा भुक्तानीमा मात्र प्रयोग हुँदै आइरहेको थियो । जसका कारण कहिलेकाही हार्डक्यास चाहियो भने एटिएम कार्ड कि चेकको प्रयोग हुँदै आएको थियो। यही कार्ड तथा चेकको बिकल्प डिजिटल्ली दिन खोजेका हौ' बैंकका डिजिटल बैकिङ हेर्ने निरज शर्माले भने ।
यो सेवा लिनका लागि ग्राहकले पहिला एपमा लगइन गर्नुपर्छ। त्यसमा स्क्यानर हुन्छ। जसमा क्लिक गर्नेवित्तिकै क्यामेरा खुल्छ । जसबाट काउन्टरमा राखिएको कोड स्क्यान गर्नुपर्छ। त्यसपछि मोबाइल बैंकिङको पासवर्ड र निकाल्न चाहेको रकम हालेपछि सबमिट गर्नुपर्छ ।
निकाल्न खोजिएको पैसा खाताबाट काटिन्छ । त्यसरी शाखाबाट पैसा भुक्तानी लिन सकिन्छ । यो मोबाइल बैंकिङकै सेवा भएकाले यसबाट दिनमा १ लाख रुपैयाँसम्ममात्र झिक्न मिल्छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार यस्तो अंक तोकिएको शर्माले जानकारी दिए ।
शर्माका अनुसार हालका लागि यस्तो सुविधा काठमाडौं उपत्यकाका शाखामाहरु उपलब्ध छ । छिटै देशभरका शाखामा सेवा विस्तार गरिने उनले जानकारी दिए। देशभर नबिल बैंकका ११८ शाखा छन् ।


