एनएमबी बैंकले ८.९९ प्रतिशतमा घरकर्जा उपलब्द गराउने |
काठमाडौं । एनएमबी बैंकले ८.९९ प्रतिशतमा घर कर्जा दिने भएको छ। निश्चित दुई वर्ष अवधिको घर कर्जाका लिनेले उक्त ब्याजदरमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
त्यस्तै निश्चित ५ वर्ष अवधिको घर कर्जा ११ प्रतिशतमै पाउने बैंकले जनाएको छ। घरको छानामा राख्ने सोलार कर्जा ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतमा पाउने छन् । उक्त ब्याजदरमा सोलार कर्जा दिँदा निश्चित १० वर्ष अवधिको हुनु पर्नेछ। बैंकको हालको आधार ब्याजदर ८.९५ प्रतिशत रहेको छ। आधार ब्याजदरमा न्यूनतम दुई प्रतिशतदेखि थप ५ प्रतिशतसम्म लिनेछ ।
निश्चित अवधिको बाहेक साधारण कर्जाको हकमा बैंकले न्यूनतम १०.९५ प्रतिशतमा घर कर्जा दिने भएको छ । नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा बैंकहरुले आधार ब्याजदरमा थपेर कर्जा प्रवाह गर्न सक्छन् । जग्गा खरिद कर्जातर्फ भने आधार ब्याजदरमा न्यूनतम तीनदेखि ५ प्रतिशतसम्म लाग्नेछ। त्यस्तै ओभर ड्राफ्ट ट्रम लोन लिँदा आधार ब्याजदरमा तीन प्रतिशत थप हुनेछ ।
बैंकले मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ। संस्थागत मुद्दती निक्षेप ७ प्रतिशत र ७.१० प्रतिशतमा लिनेछ । त्यस्तै व्यक्तिगत मुद्दती निक्षेप भने ५.५ प्रतिशतदेखि ८.२५ प्रतिशत प्रदान गर्नेछ। साधारण बचत खाताधनीले अधिकतम ५ प्रतिशतसम्म ब्याज पाउने छन् ।


