गोंगबु हत्याकाण्ड ː महिलाको कोठामा आएकै दिन हत्या | विष खुवाएर मारेपछि शव व्यवस्थापन गरिएको आसंका
काठमाडौँ । गोंगबु चोकबाट केही मिटरभित्र नवज्योती मार्गमा किरण बस्नेतको चारतले घर छ । उनलाई स्थानीयले ‘झापाली दाई’ भनेर चिन्छन् । शनिवार राती उनकै घरमा दाङका कृष्ण बहादुर बोहराको हत्या भयो ।
आइतबार विहान घरबाट ५० मिटर पर सुटकेशमा प्याक गरेको अवस्थामा कृष्ण बहादुरको शव भेटियो । शव फेला परेको २ सय मिटरको दुरीमा जेब्रा झोलामा प्याक गरेर छाडेको टाउको र दुईवटा खुट्टा भेटियो ।
घनावस्तीको बिचमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । जब, सञ्चारमाध्यममा मृतकको फोटो सार्वजनिक भयो, त्यसपछि कृष्णबहादुरका मामा महानगरीय प्रहरी वृत महराजगञ्जमा पुगे । उनले भने– ‘मृतक मेरा भाञ्जा हुन् ।’
कृष्ण बहादुर नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे । सोही क्लूको आधारमा प्रहरी हत्या भएको घरसम्म पुगेको थियो ।
किरण बस्नेतको घरको तेस्रो तल्लामा बस्थिन् कल्पना शाही र उनका दुई बच्चा । एक छोरा र एक छोरीसँगै बस्थे । उनकी एउटी छोरीको विवाह भैसकेको छ । कल्पनाकै कोठामा कृष्णबहादुरको इहलिला समाप्त पारियो ।
हत्यामा संलग्न कल्पनालाई चितवनबाट पक्राउ गरिएको छ । हत्याको कारण खुलिसकेको छैन्, त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । कृष्ण बहादुर बोहरा पछिल्लो एक महिनादेखि गोंगबु मित्रनगरस्थित नर्सिङ धाम गेष्ट हाउसमा बसेका थिए । शनिवार गेष्ट हाउस सञ्चालकसँग ‘दुई दिन आउँदिन है’ भनेर उनी निस्किएका थिए ।
गेष्टहाउसबाट निस्किएर उनी कल्पनाको कोठामा गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कल्पनाले २ वटा कोठा, किचन र बाथरुम भाडामा लिएकी थिईन् ।
एउटा कोठा र बाथरुममा रगत देखिएको छ । कृष्णबहादुरलाई पहिले विष खुवाएर मारेपछि घाँटी र खुट्टा काटेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । मृतकको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।
बाथरुममा मृत शरीर टुक्रा पारेर शव व्यवस्थापन गरेपछि कल्पनाले काठमाडौँ छाडिन् । ‘आइतबार साँझ मात्रै उनी काठमाडौँबाट हिँडेको देखिन्छ’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्– ‘उनलाई चितवनको टाँडीबाट पक्रेर काठमाडौँ ल्याउँदैछौं ।’
हत्या कल्पना एक्लैले गरिन् वा कसैले सहयोग गरेका थिए भन्ने खुलिसकेको छैन् । घरधनी बस्नेतले आफूले केही थाहा नपाएको प्रहरीलाई बताएका छन । प्रहरीले उनको घरको तेस्रो तल्लामा रहेको बन्द कोठाको ताला फुटाएर घटनास्थल पहिचान गरेको थियो । शव व्यवस्थापनपछि कोठामा ताला लगाएर कल्पनाले काठमाडौँ छाडेकी थिईन् ।


