भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण | भारतमा एकै दिन एक हजारभन्दा धेरैको मृत्यू
काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
अरू नै समस्याले जचाउन अस्पताल गएका बेला कोरोना पनि परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको उनले बताएका छन् । उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न भनेका छन् ।
यसैबीच कोरोनाभाइरसको महामारी सुरू भएयता भारतमा पहिलो पटक एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेका २४ घण्टामा एक हजार ७ जना मानिसको कोरोनाबाट मृत्यु भएको जनाएको छ ।
यस्तै सोही अवधिमा ६२ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी संक्रमित संख्या २२ लाख १५ हजार ७५ पुगेको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार भारतमा हाल कोरोनाका ६ लाख ३४ हजार ९ सय ४५ वटा सक्रिय केस रहेका छन् । यस्तै हालसम्म ४४ हजार ३ सय ८६ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
शुक्रबारयता भारतमा प्रतिदिन ६० हजार भन्दा बढीको संख्यामा संक्रमित फेला परिरहेका छन् । भारतको कोरोनाबाट निको हुनेको संख्यामा पनि वृद्धि भएको छ । एकैदिन ५४ हजार ८ सय ५९ जना निको भएपछि भारतको निको हुनेदर ६९.३३ प्रतिशत पुगेको छ । हालसम्म १५ लाख मानिस उपचारपछि डिस्चार्ज भएका छन् ।
भारतमा निको हुने र सक्रिय केसमा ९ लाखको अन्तर रहेको छ । भारत सरकारले देशका १० राज्यमा अझै पनि कोरोना संक्रमण उच्च रहेको जनाएको छ । यी १० राज्यमा भारतका ८० प्रतिशत संक्रमित रहेका छन् ।
इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आइसिएमआर)ले हालसम्म २ करोड ४५ लाख ८३ हजार ५ सय ५८ वटा कोरोना परीक्षण गरिएको जनाएको छ ।आइतबार ४ लाख ७७ हजार बढी नमुना परीक्षण गरिएको उसले जनाएको छ । भारतले अगस्टको अन्तिमसम्म कोरोना परीक्षणदर प्रतिदिन १० लाख पुर्याउउने लक्ष्य लिएको छ ।
भारत विश्वमा कोरोनाबाट अमेरिका र ब्राजिलपछि सबैभन्दा संक्रमित भएको मुलुक हो । भारतमा दैनिक भेटिने कोरोना संक्रमित संख्याले अमेरिकाको दैनिक संख्यालाई उछिनेको छ ।
विश्वमा हालसम्म २ करोड बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने सोका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ३० हजार ८९ पुगेको छ ।


