एडुफेयरमा अहिलेसम्म ५० हजार विद्यार्थीले गरे भिजिट |
काठमाडौं । साउन २० देखि सुरु भएको नेपाल एडुफेयरमा विद्यार्थीको आकर्षण बढेको बताइएको छ। सो फेयरमा अहिलेसम्म ५० हजार विद्यार्थीले भिजिट गरिसकेका छन् ।
एसईई परीक्षा दिए र ११ को भर्नाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर परामर्श दिन फेयरको आयोजना गरिएको हो ।
‘अहिलेसम्म ५० हजारले भिजिट गरेका छन्,’ फेयरका संयोजक सुरेश सिम्खडाले भने, ‘नेपाल एडुफेयरबाट विद्यार्थीले परामर्श लिइरहेका छन्। कुन कलेज पढ्ने ? कुन विषय पढ्ने? करियर बनाउन के गर्ने? कुनकुन विषयको महत्व कस्तो छ? लगायतका परामर्श विद्यार्थीले घरमै बसेर पाएका छन् ।’
स्कलरशीपका लागि अहिलेसम्म १६ हजार विद्यार्थीले फारम भरेका छन्। नेपाल एडुफेयर डटकम भिजिट गरेर विद्यार्थीले स्कलरशीपका लागि फारम भरेका हुन् ।
संयोजक सिम्खडाले भने, ‘स्कलरशीपका लागि फारम भर्ने क्रम जारी छ। आर्थिक अवस्था कमजोर भएका, जेहन्दार तथा भौगोलिक क्षेत्रको आधारमा ३५ जना विद्यार्थीका लागि १ करोडको स्कलरशीप दिन्छौँ। यो स्कलरशीप प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ पूर्ण रुपमा निःशुल्क अध्ययन गर्न पाउँछन्। स्कलरशीपका लागि विद्यार्थीले लिखित परीक्षा दिनुपर्ने हुन्छ र लिखितमा उत्कृष्ट गर्ने विद्यार्थीहले अन्तरवार्तामा सहभागि हुन पाउँछन् ।’
सिम्खडाकाअनुसार लिखित र मौखिक परीक्षा तथा एसईईमा प्राप्त गरेका ग्रेड र उसको पारिवारिक अवस्था लगायतका मापदण्डलाई आधार बनाएर स्कलरशीप प्रदान गरिन्छ ।
स्कलरशीपका लागि फारम भरेका विद्यार्थीको परीक्षा पनि सुरु भएको छ । बिहीबारदेखि काठमाडौंका विभिन्न कलेजबाट अनलाइनको माध्यमबाट स्कलरशीपको फारम भरेका विद्यार्थीको परीक्षा लिन सुरु गरिएको हो । परीक्षाको नतिजा भदौको पहिलो साता सार्वजनिक गरिने बताइएको छ ।
स्कलरशीपको परीक्षामा सहभागी विद्यार्थी पनि उत्साहित छन् ।


