सिभिल मलका सबै पसलको सामान ग्यापु डटकममा पाइने, घर घरमै निःशुल्क डेलिभरी |
काठमाडौं । लकडाउनको विषम परिस्थितिमा सेवा सुरु गरी आक्रामक ब्यापारमा उत्रेको नेपाली ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (ग्यापु डटकम)ले अब काठमाडौंको सिभिल मलका सबै पसलका सामान ग्राहकहरुलाई घरमै निःशुल्क डेलिभरी गर्ने गरी सम्झौता भएको छ। यो सम्झौता सँगै ग्यापु दुई बर्षसम्म सिभिल मलको एक मात्र अनलाइन साझेदार रहने छ ।
सम्झौताअनुसार सिभिल मल ग्यापु डटकमको वेसाइटमा भेन्डरको रुपमा समेटिएको छ। सिभिल मलका १ सय ५० वटा पसलमा चार लाख भन्दा बढी सामान उपलब्ध छन्। ग्राहकले ग्यापुको वेबसाईट (gyapu.com) वा मोबाइल एप प्रयोग गरि आवश्यक सामान अर्डर गर्न सक्नेछन् ।
ग्यापुको सेल्स सपोर्ट टिमको छुट्टै अफिस नै सिभिल मलमा राखिने छ, जसले समयमै सामान डेलिभरी, फिर्ता र साटफेरका लागि ग्राहकलाई सहज बनाउने छ। यसका लागी सिभिल मलले ग्यापुलाई कार्यलयको लागि ठाउँ उपलब्ध गराएको छ ।
अनलाइनमा अर्डर आउनासाथ भौगोलिक दुरि हेरि केहि घण्टा देखी चौबीस घण्टा भित्र डेलिभरी गरिने ग्यापु डटकमका निर्देशक एवम् सिइओ ज्ञानेन्द्र खड्काले बताए। काठमाडौ उपत्यकासँगै काभ्रेपलाञ्चोकको बनेपासम्म डेलिभरी गरिने खड्काले जानकारी दिए ।
ग्राहकले डेलिभरी पूर्व ई–सेवाबाट पैसा तिरि क्यासब्याक समेत लिन सक्नेछन्। ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आइएमई पे, फोने पे, कनेक्ट आइपिएस, प्रभु पेमार्फत बिल तिर्न सक्छन् भने डेलिभरिको समयमा नगद समेत दिन सक्नेछन् ।
ग्यापु डटकमका तर्फबाट संस्थापक एवम् सिइओ ज्ञानेन्द्र खड्का र सिभिल मलका तर्फबाट सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले हस्ताक्षर सम्झौतामा हस्ताक्षर गरेका छन् । व्यापार दरमा मासिक सय प्रतिसत भन्दा धेरै वृद्धि गरिरहेको ग्यापुले बजारमा सर्वसुलभ मुल्यमा सामान उपलब्ध गराइरहेको खड्काको दाबी छ ।
हाल काठमाडौ उपत्यका भित्र मात्र ग्यापुको सेवा रहेको छ भने लकडाउन पछि सेवा देशका मुख्य शहरहरुमा बिस्तार गरिने खड्काले बताए ।



