कोरोना संक्रमणका कारण उत्तर प्रदेशकी मन्त्रीको मृत्यु | २४ घन्टामा भारतमा थपिए झन्डै ५५ हजार संक्रमित
कोरोनाभाइरसको संक्रमण भएकी भारतको उत्तर प्रदेशकी मन्त्री कमला रानी वरूणको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा शिक्षा मन्त्री रहेकी ६२ वर्षीया कमला रानीको आइतबार मृत्यु भएको हो । उनलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो । उनको लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचार भइरहेको थियो ।
मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुस्ख व्यक्त गरेका छन् । उनले आइतबार अयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेका छन् ।
कमला रानीले सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट जित हात पारेकी थिइन् । उक्त क्षेत्रमा चुनाव जित्ने उनी भारतीय जनता पार्टीकी पहिलो विधायक हुन् । यसअघि कमला रानी भारतको लोकसभाकी पनि सांसद बनिसकेकी छन् ।
पछिल्लो समय भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिइरहेको छ । पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३७ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ । अहिलेसम्म ११ लाख ४५ हजार संक्रमित निको भएका छन् भने ५ लाख ६७ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।



