गत वर्षको आर्थिक वृद्धिदर १.८ प्रतिशत रहेको विश्व बैंकको प्रक्षेपण | चालु आवको २.१ प्रतिशत मात्रै
काठमाडौं । विश्व बैंकले गएको आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा खुम्चिएको अनुमान गरेको छ ।
विश्व बैंकले नेपालको डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो । कोरोनाभाइरसका कारण अर्थतन्त्रका अधिकांश क्षेत्रमा सुस्तता आएकाले वृद्धिदर खुम्चिएको बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकको यो अनुमान सरकारी अनुमानभन्दा न्यून हो । सरकारले केन्द्रीय तथ्यांक विभागले गएको वर्ष २.३ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
बैंकले गएको वर्ष मूल्यवृद्धि ६.६ प्रतिशत कायम भएको बैंकले अनुमान गरेको छ ।
कोरोनाका कारण माग तथा आपूर्ति नै प्रभावित भएकाले आर्थिक वृद्धिदर खुम्चिएको बैंकको भनाइ रहेको छ । यो बीचमा सरकारी खर्च पनि बढ्न नसकेको र आयात तथा उपभोगक सिमित हुँदा राजश्व संकलन पनि प्रभावित भएको बैंकले बताएको छ ।
पर्यटक आगान तथा अन्य सेवाबाट हुने आम्दानी गएको चार वर्षकै न्यून भएको तथा धान उत्पादनमा पनि गिरावट आउँदा अर्थतन्त्र सुस्त भएको बैंकको निष्कर्ष छ ।
चालु आवको २.१ प्रतिशत
बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले ‘नेपाल डेभलपमेन्ट अपडेट २०२० प्रतिवेदन’ भर्चुअल सेमिनारमा सार्वजनिक गरे । यो प्रतिवेदनमा विश्व बैंकले सन् २०२१ (२०७७∕७८)मा नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशत हाराहारी मात्र रहने प्रक्षेपण गरिएको छ ।
तर, यही प्रतिवेदन सार्वजनिक गरेपछि अर्थमन्त्री खतिवडाले आगामी वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत हुने रटान दोहोर्याेए । विश्व बैंकले यसअघि नै २.१ प्रतिशतको वृद्धि हात पर्ने अनुमान सार्वजनिक गरिसकेको थियो ।
बिहीबार पनि नेपाल सरकार र विकास साझेदार संस्था विश्व बैंकले आर्थिक वृद्धिका लागि आ(आफ्नो दावी पुनː दोहोर्यारएका छन् । सरकारले चालु आर्थिक वर्ष २०७७∕७८ बजेटमा नै ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।
विश्व बैंकले गरेको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आयोजनाहरुको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणमा सरकारले ल्याएको प्याकेजहरुका कारण अर्थतन्त्र छिट्टै पुनरुत्थान हुने दावी गरे ।
यता, विश्व बैंकले भने उद्योग, पर्यटनलगायत क्षेत्र बढी प्रभावित रहेको भन्दै आर्थिक वृद्धि प्रभावित हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा सरकारको खर्चमा सुधार हुने, वैदेशिक व्यापारमा हुने सुधार, मुलुकभित्र बढ्ने आर्थिक गतिविधिका कारण राजस्व संकलनमा हुने सुधारले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्व बैंकको अनुमान रहेको छ ।
यसबाहेक कोभिड–१९ को असर न्यूनीकरणमा चालिएका कदमको सकारात्मक प्रभाव समेत यस वर्ष देखिन जाँदा आर्थिक गतिविधिमा अगाडि बढ्ने प्रक्षेपण गरिएको छ ।


