चीनले पहिलो पटक मंगल ग्रहमा पठायो आफ्नै यान |
चीनले पहिलो पटक मंगल ग्रहमा आफ्नो यान पठाएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार बिहीबार स्थानीय समयअनुसार १२ बजेर ४१ मिनेट जाँदा तियानवेन नामको उक्त यानले जमिन छोडेको हो । हैनान टापुमा लङमार्च–५ रकेटबाट गएको उक्त यान आगामी फेब्रुअरीमा मंगल ग्रहमा पुग्ने अपेक्षा गरिएको छ ।
मंगल ग्रहमा पुगेपछि उक्त यानले त्यहाँको ९० दिन काम गर्ने बताइएको छ । मंगल ग्रहको दिन पृथ्वीको भन्दा लामो हुन्छ ।
चाइनिज एकेडेमी अफ साइन्सेसका विज्ञ वाओ वेइमिनले गत जुनमा समाचार संस्था सिन्ह्वासँग भनेका थिए, ‘यो प्रक्रियामा सबैभन्दा कठिन ल्यान्डिङको काम हो । चार स्टेपमा हुने ल्यान्डिङका लागि सातदेखि आठ मिनेटसम्म लाग्न सक्छ ।’
मंगल ग्रह जान हिँडेको चिनियाँ यानमा अर्विटर, ल्यान्डर र रोभर छन् । ल्यान्डर र रोभरले मंगल ग्रहको सतहमा सफ्ट ल्यान्डिङ गर्नेछन् । त्यसपछि रोभरले मंगलको सतह, वायुमण्डल र त्यसमाथिको आइओनोस्फेयरको अध्ययन गर्नेछ ।
ताइनवेनको अर्थ मण्डारिन भाषामा स्वर्गलाई प्रश्नहरू भन्ने हुन्छ । इस्वी सम्वतभन्दा ३४० वर्षअघि जन्मेका कवि क्यू युयानले आफ्नो कविताबाट चिनियाँ धर्म, आस्था र इतिहासलाई १७२ वटा प्रश्न सोधेका थिए । तिनै प्रश्नहरूबाट उत्प्रेरित भएर मंगल ग्रहमा जाने यानको नाम ‘स्वर्गलाई प्रश्नहरू’ राखिएको हो ।
९ वर्षअघि चीनले रूससँग मिलेर यिन्गहोउ–१यान मंगल ग्रहको अर्बिटका लागि पठाएको थियो। पछि उक्त यान प्राविधिक कारणले क्षति भएको थियो ।
मंगल ग्रह सूर्यबाट चौथो टाढा रहेको ग्रह हो भने सौर्य मण्डलमा यो सबैभन्दा सानामध्ये दोस्रो ग्रह हो । पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह पनि यही हो ।
नजिक भएकाले धेरै पहिलादेखि नै मानिसहरूमा यो रातो ग्रहबारे अनेक कल्पना र महत्वकांक्षा छन् । कतिले त मंगल ग्रहमा भविष्यमा बस्ती बसाउने सोच पनि राखेका छन् ।
मंगल ग्रहको अध्ययन गर्न शुरू भएको पनि ६ दशक पुगिसकेको छ । सन् १९६० को अक्टोबरमा सोभियत युनियनले पहिलो पटक यान पठाउन खोजेको थियो तर लन्चका क्रममा नै त्यो ध्वस्त भयो ।
सन् १९७१ मा मार्स २ अर्विटर मंगल ग्रहमा पुग्ने पहिलो मानव निर्मित वस्तु बनेको थियो तर ल्यान्डिङ सिस्टममा समस्या भएपछि यसले सम्पर्क गुमायो ।
केही समयपछि सोभियत युनियनले अर्को ल्यान्डर पठाएको थियो । जो मंगल ग्रहको सतहमा सफलतापूर्वक अवतरण भएको थियो तर त्यसले १४.५ सेकेन्डमात्र काम गर्न सक्यो ।
नासाको मार्स ओडिसी सन् २००१ मा लन्च भएको थियो । यो मंगल ग्रहको कक्षमा लामो समयसम्म घुमेको थियो ।
४ दिनअघि युएईले पनि मंगल ग्रहका लागि आफ्नो यान पठाएको छ । उक्त यान पनि फेब्रुअरीमै मंगल ग्रहको सतहमा पुग्ने अपेक्षा गरिएको छ । अरब मुलुकबाट मंगल ग्रहमा यान पठाउने युएई पहिलो मुलुक हो ।


