सलहले दाङको देउखुरी क्षेत्रमा मच्चायो उत्पात, मकैबालीमा ठूलो क्षति
कृष्ण प्रसाद भट्टराई
दाङ । दाङको देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्याएको छ । देउखुरी क्षेत्र दाङको अन्नभण्डारको भनेर चिनिन्छ । मंगलबार दिउँसो राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका छन् ।
सलहका बथानले मकैबाली नष्ट गरेको राप्ती गाउँपालिका–२ बराखुटीका वासिन्दा सन्तोष भुसालले बताए । उनका अनुसार करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै मकैबारी उजाड बनाएर हिँडेको छ ।
राप्ती गाउँपालिकाका किसानहरू यसैवर्ष अमेरिकी फौजी किराबाट पीडित भएका थिए । फौजी किराबाट जसोतसो मकै जोगाउन सफल भएका उनीहरू फेरि सलहको मारमा परेका छन् । फौजी किराबाट जोगिन घरेलु औषधि छरेर पनि नभएपछि गाउँपालिकाले नै विषादी उपलब्ध गराएको थियो ।
सलहलाई भगाउन स्थानीयले थाल ठटाएको, टायर बालेको र हल्लाखल्ला गरेका थिए । राप्ती गाउँपालिका वडा नं. ३ मसुरियामा पनि सलह किरा देखिएको स्थानीयले बताएका छन् ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी सलहको बथान थुप्रै बिघामा लगाइएको मकै बालीमा बसे पनि कसको बारीमा कति क्षति भयो भनेर भन्न सकिने अवस्था नरहेको बताउँछन् । ‘क्षति त पुर्याकयो नै तर कति क्षति भयो भनेर अहिल्यै भन्न सकिने अवस्था छैन,’ उनले भने ।
सलहका बथान दाङमा देखिन थालेपछि पालिकाहरूले स्थानीय एफएम रेडियोमार्फत् सलह भगाउने घरेलु उपायसहिको सन्देश प्रवाह गर्दै आएका छन् ।
मकै दाङको प्रमुख खाद्यान्न बाली हो । मंगलबार नै राजपुर गाउँपालिका वडा नं. २ को चम्फानगर, गढवा गाउँपालिका वडा नं. ७ मानपुर र लमही नगरपालिका वडा नं. ६ को मध्यनगरका किसानले लगाएको मकैमा पनि सलहले क्षति पुर्याएको छ । यहाँका किसानहरूले पनि रित्ता भाँडा ठटाउने, आगो बालेर धुवाँ उडाउने लगायतका काम गर्दै आएका छन् ।
दाङमा सुरुमा गत आइतबार तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेमा सलहको सानो झुण्ड देखा परेको थियो । त्यो झुण्डले बालीनालीमा क्षति नपुर्याँउने भन्दै नआत्तिन कृषि ज्ञान केन्द्रले दाङवासीलाई आश्वस्त पारेको थियो । तर मंगलबार एक्कासी सलहको ठूलो बथान दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा देखिएपछि किसानहरू त्रसित भएका छन् ।

