प्रधानसेनापति र सशस्त्रका महानिरीक्षक पुगे दार्चुलाको छाङ्गरू |
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङ्गरू पुगेका छन् ।
बुधबार बिहान १० बजे दुबै सुरक्षाका प्रमुख दार्चुला ब्यास नगरपालिका वडा नम्बर १ मा पुगेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरीले बनाएको बोर्डर आउट पोष्ट (बिओपी) र सेनाको अस्थायी बेस निरीक्षण गर्न पुगेका हुन् ।
दार्चुलाको छाङ्गरूमा गत वैशाख ३१ गते सशस्त्रको बिओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो ।
साथै, दुबै प्रमुखले सेनाले बनाउँदै गरेको दार्चुलादेखि तिंकरको बाटोको निरीक्षण समेत गरेको दार्चुलाका सहायक सिडिओ टेकसिंह कुँवर जानकारी दिए ।
’तिंकरमा बनाउने भनेको बाटो निरीक्षण गर्न सेनाका प्रमुख आउनुभएको छ,’उनले भने,’निरीक्षण गरिसक्नु भयो । अब प्रमुख जिल्ला अधिकारीसँग बसेर छलफल हुनेछ ।’
उनका अनुसार छलफल सकिएलगत्तै उनीहरू त्यहाँबाट फर्किने छन् ।



