भारतबाट दैनिक चारदेखि पाँच हजार मानिस घर फर्किदै, आउनेको चाप घट्यो | हालसम्म दुई लाख ४६ हजार नागरिक फर्किए
काठमाडौं । रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किने क्रम केही घटेको पाइएको छ । तर अहिले पनि सरकारले तोकेको देशभरका २० वटा नाकाबाट दैनिक चारदेखि पाँच हजार मानिस आउने गरेको तथ्यांक छ ।
सरकारी तथ्यांकअनुसार हालसम्म भारतबाट दुई लाख ४६ हजार नागरिक फर्किएका छन् । यसरी फर्किनेमध्ये धेरै जेठ ११∕१२ मा फर्किएका हुन् । भारतले लकडाउन खुकुलो बनाएर रेल्वे सेवा शुरु गरेसँगै ठूलो संख्यामा नेपालीहरू नेपालको सीमा आइपुगेका थिए । उनीहरूको व्यवस्थापन पनि भद्रगोल भएको थियो ।
परीक्षणविना नै नेपाल प्रवेश गरेका उनीहरूको स्थानीय तहमा क्वारेन्टिन पनि राम्रोसँग भएन । त्यही कारण क्वारेन्टिनस्थलमा कतिपय संक्रमित भएका छन् ।
अहिले पनि क्वारेन्टिनमा एक लाख ३३ हजारभन्दा बढी छन् । तर सीमामा भने चाप घटेको छ ।



