कल्याणकारी कोषको रकम खर्च गरी विदेशमा समस्यामा रहेका श्रमिकको उद्धार गर्न सर्वोच्चको आदेश |
काठमाडौं । सरकारले चर्को हवाइ भाडा तोकेर विदेशमा रहेका नेपाली श्रमिकको उद्दार गर्ने नीति लिएकै बेला सर्वोच्च अदालतले कल्याणकारी कोषको रकम खर्च गरी समस्यामा परेकाहरुको उद्धार गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले विदेशमा समस्यामा परेर आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धार गर्न आदेश दिएको हो ।
यसअघि सर्वोच्चले वैशाख ४ गते विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्न आदेश दिएको थियो । जसअनुसार सरकारी श्रमिककै खर्चमा उनीहरुलाई ‘उद्धार’ गरेर स्वदेश ल्याउने भनिएपछि अभिवक्ता सोमप्रसाद लुईँटेलले दायर गरेको पूरक रिटमा सर्वोच्चले सरकारलाई सो आदेश दिएको हो ।
श्रमिकहरुले विदेश जाँदा कल्याणकारी कोषमा रकम योगदान गरेरै गएकाले अति नै समस्यामा परेका नेपालीलाई कोषकै रकम प्रयोग गरी स्वदेश फिर्तीको माग रिटमा भएको थियो ।
जसअनुसार सर्वोच्चले श्रम स्वीकृति लिई रोजगारीमा गएका, करारको अवधि नपुगी फर्कनुपर्ने अवस्थामा रहेर अलपत्र परेका, रोजगारदाताले टिकट नदिने र स्वयमले पनि टिकट काट्न नसक्ने अवस्थाका श्रमिकलाई कल्याणकारी कोषको रकम खर्च गरी घरसम्म पुर्याउन भनेको छ । श्रमिक आफैले खर्च व्यहोर्नपर्ने व्यवस्था वैदेशिक रोजगार ऐन २०६४ को दफा ३२, ३३ र ७५ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम २६ विपरित रहेको समेत सर्वोच्चले भनेको छ ।
सो रिटमाथि निवेदकको तर्फबाट अधिवक्ता नारायणप्रसाद प्रसाईँ, सोमप्रसाद लुईँटेल, कृष्ण प्रसाद न्यौपाने, नरेन्द्र खनाल, सुदिप देवकोटा, शोभा कार्की, लक्ष्मी थापा र नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेलगायतले बहस गरेका थिए ।
अदालतको आदेश विदेशमा अलपत्र श्रमिकहरुको हितमा रहेको सरोकारवालाहरुले बताएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष हरि भट्टराईले अदालतको आदेशको सबैले सम्मान गर्नुपर्ने भन्दै यो विदेशमा अलपत्र श्रमिकहरुको हितमा रहेको बताए ।
‘सम्मानीय सर्वोच्च अदालतको आदेशलाई हामी सवैले सम्मान गर्नुपर्छ । यो फैसलाले विदेशमा अलपत्र परेका पिडित श्रमिकहरुको हित हुनेछ’, उनले भने । सरकारले विदेशबाट पहिलो चरणमा कोरोना प्रभावित २४ हजार हाराहारीका नेपालीको उद्धार गर्न लागेको छ ।



