तालिवान समूहको नेतृत्व मुल्लाह ओमारका छोरालाई |
अफगान तालिवान समूहका संस्थापक मुल्लाह ओमारका छोरा मुल्लाह याकूबले तालिवान समूहको नेतृत्व सम्हालेका छन् । समूहका नेताहरुबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम नेतृत्व हस्तान्तरण गरिएको हो ।
अफगान स्रोतका अनुसार तालिवानका कतिपय वरिष्ठ सदस्यहरु कोरोना भाइरसका कारण बिरामी परेका कारणले पनि याकूबलाई नेतृत्व दिइएको हो ।
अफगानिस्तानका पूर्व राष्ट्रिय गुप्तचर विभागका प्रमुख रहमतुल्लाह नबिलले हाल मुल्लाह याकूबले तालिवान आन्दोलनको नेतृत्व गरिरहनु भएको दाबी गरिरहेका छन् ।
उनले समूहको कतारको दोहास्थित कार्यालयका कतिपय सदस्यहरु कोरोना भाइरस संक्रमित भएको र उनीहरु पाकिस्तान फर्किएको पनि बताए ।
गत फेब्रअरीमा तालिवानसँग अमेरिकाले गरेको सम्झौताको कार्यान्वयन तथा अफगान सरकारसँगको वार्ताको महत्वपूर्ण क्षणमै तालिवान समूहको नेतृत्वमा संकट उत्पन्न भएको छ ।
तालिवान समूहको उच्च नेतृत्वमा कुनै किसिमको विभाजन र असहमति देखा परे कमजोर अफगान शान्तिवार्ता नै धरापमा पर्न सक्ने आँकलन गरिएको छ ।
अमेरिकाले तालिवानसँगको सम्झौता बमोजिम आफ्ना सैनिक फिर्ता गर्न थालको भए पनि तालिवान र अफगान सरकारबीच शान्तिवार्ता शुरु हुन सकेको छैन ।
विदेशी समाचार संस्थाका अनुसार ओमरका मुख्य सहयोगी एवं महत्वपूर्ण तालिवान नेता हैबातुल्लाह अखुनजादा केही हप्तादेखि कुनै पनि वैठकहरुमा देखा परेका छैनन् ।
उनको स्थानमा हक्कानी नेटवर्कका सिराजुद्दीन हक्कानीले गरिरहेका छन् । यो समूहको सम्बन्ध पाकिस्तानस्थित इस्लामिक स्टेटको अलकायदा समूहसँग सम्पर्क रहेको मानिन्छ ।
इस्लामिक स्टेटको चाहना तालिवानसँग हक्कानी नेटवर्कको सम्पर्क टुटाएर पुनː अतिवादी जिहादी क्रियाकलाप सुरू गर्नु हो । नबिलका अनुसार तालिवानको राजनीतिक कार्यालयमा परिवर्तन हुनेक्रम जारी रहेको छ ।
पछिल्लो समय मुल्लाह याकूब पनि तालिवानको शीर्ष नेतृत्व सम्हाल्ने गरी तयारी गरिरहेका थिए । उनका बाबु मुल्लाह ओमरको सन् २०१५ मा निधन भएको थियो । याकूबलाई सन् २०१६ मा अफगानिस्तानका ३४ मध्ये १५ वटा प्रान्तको सैनिक आयोगको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।
तालिवान समूहले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासनसत्ता सम्हालेको थियो । तर सन् २००१ मा अफगानिस्तानमा लुकेर बसेका ओसामा बिन लादेनले अमेरिकामा भिषण हमला गरेपछि प्रतिशोधमा अफगानिस्तानमाथि अमेरिकाले आक्रमण गरी तालिवानलाई सत्ताच्यूत गरेको थियो ।
तालिवान समूहले त्यसयता अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाविरुद्ध सशस्त्र संघर्ष गरिरहेको छ ।
Visited 1 times, 1 visit(s) today


