बुटवलको कोरोना अस्पतालबाट ४ जना निको भएर घर फर्किए |
बुटवल । बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालबाट चारजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरुमा कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जना छन् । उनीहरु वैशाख २९ र ३० गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए ।
अस्पतालका कोभिड–१९ फोकल पर्सन तथा वरिष्ठ कन्सल्टेन्ट डा. सुदर्शन थापाका अनुसार निको भएर घर फर्किनेहरु १५ देखि ४० वर्ष उमेरका छन् ।
निको भएर घर फर्किन लागेकालाई डा. थापा, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल,लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुले पुष्प गुच्छा दिएर विदाइ गरेका हुन् । ‘पछिल्लो २४ घण्टामा गरिएको दुई पटकको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उहाँहरुलाई विदाइ गर्यौं ,’(डा. थापाले भने ‘कोरोना जितेर संक्रमितहरु निको भई घर पठाउन पाउँदा सबैभन्दा खुशी लाग्छ ।’
यसअघि यो अस्पतालबाट रुपन्देहीको पहिलो कोरोना संक्रमित कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवक वैशाख ३० गते र कपिलवस्तुका १० जना जेठ १० गते घर फर्किसकेका छन् ।
हालसम्म यो अस्पताल राखिएका १५ जना निको भएर घर फर्किसकेका डा. थापाले बताए । कोरोना अस्पतालको आइसोलेसन जनरल वार्डमा ३१ जना र आईसीयुमा एकजना उपचाररत रहेको डा. थापाले जानकारी दिए ।
प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ५२ जना पुगेको छ । यसअघि बाँकेका २१ जना र कपिलवस्तुकी एकजना नर्स निको भएर फर्किसकेका छन् ।


