पेट्रोलियमबाट वार्षिक थप २० अर्ब कर उठाइने, तत्काल मूल्य भने नबढ्ने |
काठमाडौं । कोरोनाका कारण आम्दानीका स्रोतहरु खुम्चिएपछि सरकारले पेट्रोलियम पदार्थमा करको दर बढाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७∕७८ को बजेटमार्फत पेट्रोल, डिजेल र मटितेलमा लाग्दै आएको भन्सार शुल्कमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेका छन् । तर तत्काल मूल्य भने नबढने आयल निगम स्रोतले जानकारी दिएको छ ।
यो वृद्धिपछि शुक्रबारदेखि नेपाल भित्रिने पेट्रोलमा २५.२० रुपैयाँ, डिजेल र मटितेलमा १२ रुपैयाँ प्रतिलिटर भन्सार शुल्क लाग्नेछ । भन्सार महशुल बृद्धिसँगै सरकारले अब निगमसँग वाषिर्क २० अर्ब रुपैयाँ राजश्व बापत रकम लैजाने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।
‘गत वर्षको पेट्रोलियम पदार्थको वाषिर्क खपत २० लाख किलोलिटरलाई आधार मान्दा सरकारी खातामा सो बराबर वा केही बढी राजस्व जाने देखिन्छ’ कार्यकारी निर्देशक पौडेलले भने । पेट्रोलियम पदार्थमा बढेको भन्सार शुल्कले सीमापारिको मूल्य अन्तरको खाडललाई भने केही हदसम्म चिरेको पौडेलको भनाइ थियो ।
हवाई इन्धनको मूल्य घट्यो
सरकारले हवाई इन्धनमा लगाइँदै आएको पूर्वाधार विकास कर हटाएपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तराष्ट्रियतर्फ प्रतिकिलोलिटर ८२ डलरले मूल्य घटाएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।
घटेको मूल्यअनुसार अब आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ कामय भएको छ भने ९ सय ५० डलर प्रतिकिलोलिटरबाट ८२ डलरले घटेर ८६८ डलर कायम भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले पूर्वाधार विकास करबापत हवाई इन्धनमा लाग्दै आएको १० रुपैयाँ कर हटाएको विहीबार घोषणा गरेका थिए । उनका अनुसार यो सहुलियत दिँदा सरकारले सबा अर्व रकम गुमाउँछ ।
Visited 4 times, 1 visit(s) today


