लकडाउन खोल्दै इटाली, जुन ३ देखि देशभित्र र बाहिरको आवतजावत खुल्ला गर्ने |
शनिबार इटाली सरकारले जुन ३ देखि देशभित्र र बाहिर आवतजावत गर्न दिने एक निर्णयमा सहमति दिएको छ । कोरोना भाइरसका कारण कडा लकडाउन गरेको इटाली हाल त्यसलाई सहज पार्ने प्रक्रियामा छ ।
निर्णय अनुसार अब इटालीका नागरिकलाई देशबाहिर जान र अन्य देशका नागरिकलाई इटाली आउन कुनै रोकतोक हुनेछैन् । सरकारले सोही दिनदेखि देशभित्रको यात्रामाथि लाग्दै आएको रोक पनि हटाउने भएको छ ।
त्यहाँका केही क्षेत्रहरूले सामान्यतर्फ फर्किने प्रयास गरिरहेको भएपनि प्रधानमन्त्री जुसेपे कोन्टेले संक्रमणको दोस्रो लहर नआउन दिन क्रमिक हिसाबले सामान्य अवस्थामा फर्किनुपर्नेमा जोड दिदैं आएका छन् ।
इटालीमा मात्र कोरोनाको संक्रमणबाट ३१ हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ । मृतकहरूको यो संख्या संयुक्त राज्य अमेरिका र बेलायत पछि विश्वमा तेस्रो धेरै हो ।
भाइरस संक्रमण रोकथामका लागि देशव्यापी प्रतिबन्ध लगाउने राष्ट्रमध्ये इटाली पहिलो युरोपेली राष्ट्र हो। मे ४ देखि मात्रै त्यहाँका केही कारखाना र पार्कहरु खोल्ने अनुमति दिइएको थियो ।
इटालीमा अन्तर–क्षेत्रीय र विदेशी यात्रामा जून २ सम्म प्रतिबन्ध लगाइएको छ । अब यी सबै रोक जून ३ बाट हट्नेछ । सरकारले अर्थव्यवस्थाका सबै क्षेत्रहरू पुनस् सक्रिय गर्न सक्ने व्यवस्था ल्याएको छ । यद्यपि सबै क्षेत्रमा सुरक्षा नियम अनुसरण गर्नुपर्ने प्रावधान छ ।
ती प्रावधानहरूको ध्यान राखिए–नराखिएको राष्ट्रिय स्वास्थ्य अधिकारीहरूले अनुगमन गर्नेछन् । स्वास्थ्य अधिकारीहरूले सिफारिस गरे अनुसार देशभरका पसल र रेष्टुरेन्टहरूले कडा सामाजिक दूरी र स्वच्छता नियमहरू अन्तर्गत पुनः खोल्न तयारी गरिरहेका छन् ।
’चुनौती निकै ठुलो छ र यस बारे भन्न गाह्रो छ। सबै क्षेत्रमा अनिश्चितता छ’, मध्य–रोमका एक व्यापारीले भने, ’अनिश्चितताको भावनाले सबै चीज नियन्त्रण गरिरहेको छ ।’



