बाबुरामले ओलीको आलोचना गर्दा रेडियो नेपालमा हंगामा | अशिष्ट शब्द जनतालाई सुनाउनु त भएन ː रेडियो नेपालका कार्यकारी निर्देशक
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अन्तरसंवाद कार्यक्रमलाई दिएको अन्तर्वार्ता रेडियो नेपालले हटाएको छ ।
अनलाइन http://radionepal.gov.np भित्र अडिओ ग्यालरीमा राखिएको अन्तरसंवादको सोमबारको अंक रेडियो नेपालले हटाएको हो ।
सोमबार विहान अन्तरसंवादका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई अतिथि थिए । २८ मिनेट लामो उक्त कार्यक्रम समाचार महाशाखा प्रमुख नवराज लम्सालले सञ्चालन गरेका थिए ।
विहान ६ː३० बजे प्रत्यक्ष (लाइभ) प्रशारण भएको उक्त कार्यक्रममा भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै राखेका विचार र प्रयोग गरिएका भाषामा पनि रेडियो नेपालले दुːख व्यक्त गरेको छ ।
रेडियो नेपालले एक विज्ञप्ति जारी गर्दै भट्टराईले ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुखी तुल्याएको जनाएको छ । विज्ञप्तिमा कार्यक्रम प्रत्यक्ष प्रशारण भएकाले आवश्यक सम्पादन गर्न नसकेको भन्दै माफी समेत मागेको छ ।
अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने कार्यकारी निर्देशक सुरेश कुमार कार्कीको हस्ताक्षति विज्ञप्तिमा प्रतिबद्धता व्यक्त गरिएको छ ।
अन्तर्वार्तामा भट्टराईले प्रधानमन्त्रीमाथि निरङ्कुश, उदण्ड र भष्मासुर जस्ता शब्दको चयन गर्दै कडा आलोचना गरेका थिए ।
अन्तरवार्तापछि प्रधानमन्त्री कार्यालयले चासो राख्दै रेडियो नेपालका वरिष्ठ अधिकारीहरुलाई फोन गरको रेडियो नेपाल स्रोतले जनाएको छ । सो अन्तरवार्ता नवराज लम्सालले लिएका थिए ।


