अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने |
काठमाडौं । निजी प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्न पाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बैठकमा प्रवक्ता डा. विकास देवकोटाले त्यस सम्बन्धी निर्दे्शिका जारी भएको बताउदै निजी प्रयोगशालाले पनि कोभिड १९ को परीक्षण गर्न सकिने बताएका हुन् ।
उनले भने, ‘कोभिड १९ परीक्षण गर्ने न्युनतम मापदण्ड सम्बन्धी निर्दे्शिका जारी भएको छ । निर्दे्शिका बमोजिम मापदण्ड पुरा गरेका निजी प्रयोगशालाले पनि अब कोभिड १९ को परीक्षण गर्न सकिने बाटो खुलेको छ ।’ तर निजी प्रयोगशालाले मन्त्रालयसंग समन्वय गरेर मात्रै अनुमति पाउने जानकारी गराए ।
यस्तै, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाको पीसीआर परीक्षण शुरु भएको उनले जानकारी गराए । योसंगै पीसीआर माध्यमबाट परीक्षण गर्ने स्थानको संख्या १६ पुगेको छ ।
आफ्नो प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश एक सरकारले १०० बेडको कोरोना अस्पताल निमार्ण गरेको छ । प्रवक्ता देवकोटाका अनुसार प्रदेश एक सरकारले धरानको बीपी स्मृति प्रतिस्ठानमा १०० बेडको अस्पताल संचालनमा ल्याएको छ ।


